चितवन,फागुन ५ –
चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले रु एक करोड सहयोग गरेका छन् ।
क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उहाँकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमाको नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गर्नु भएको हो ।
सो अवसरमा चेक हस्तान्तरण सहित संझौता गरिएको थियो । संझौता बमोजिम हिजो रु ५० लाखको पहिलो चेक हस्तान्तरण गरिएको र निर्माणका क्रममा थप रु ५० लाख दिने उल्लेख छ । भरतपुर उपमहानगरपालिका–१० मा रोटरीयन चन्द्रेश्वर भट्टराईका पिता स्व श्रीप्रसाद भट्टराईले रोटरीलाई उपलब्ध गराउनुभएको करिब एक गट्ठा जमिनमा रोटरीले छ तले भवन निर्माण गरी तेस्रो तलामा कार्डिया सेन्टर स्थापना गर्दै छ ।
क्लबका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार भवनको पहिलो र दोस्रो तलालाई व्यावसायिक प्रयोजन गरिँदै छ भने चौथोमा व्यावसायिक तालिमकेन्द्र निर्माण गरिँदै छ । करिब रु पाँच करोडको लागतमा भवन निर्माणका लागि क्लबका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधानको अध्यक्षतामा समिति गठन गरिएको छ ।