भारत, फागुन ५-
मन्दिरमा भगवानको दर्शन गरिसकेपछि भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् पुजारीहरु । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ ।
हो, मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।
वर्षका अरु दिनहरुमा ठूलो संख्यामा आउने भक्तजनले उक्त मन्दिरमा प्रसस्त मात्रामा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वका बेला त मन्दिरमा निकै धेरै सुन भक्तजनले चढाएका हुन्छन् र महालक्ष्मीलाई खुबै श्रृंगारिएको हुन्छ । सोही सुनचाँदी र धनमध्येको केही हिस्सा कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा दिने गरिन्छ । -एजेन्सी