दमक, फागुन ४ –
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बुधबार दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएका छन् ।
स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) चुनावविरुद्ध क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका हुन् । क्याम्पस प्रमुखको कुर्सी जलाउनेहरु फरार रहेकोले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
त्यसअघि बुधबार बिहान निर्धारित मितिमै स्ववियु चुनाव गराउन दबाब दिँदै विभिन्न पाँच विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए । नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थी युनियनले ताला फुटाएका हुन् ।
उनीहरुले कुनै बहानामा स्ववियु चुनाव रोक्न नहुने भन्दै चुनावी प्रक्रिया अघि बढाउन सहज बनाउन ताला फुटाएको बताए । ‘वर्षौदेखि स्ववियु चुनाव हुन नसक्दा विद्यार्थीले आफ्ना कैयौं अधिकारीहरु गुमाएका छन्,’ नेविसंघ क्याम्पस इकाइ सभापति मिन्टु दुलाले भने,‘त्यसैले हामी यसपाली कुनै हालतमा चुनाव गरारै छाड्छौं ।’ उनले क्याम्पस प्रमुखको ताला फुटाइदिएकोले चुनावी प्रक्रिया सुरु गर्न क्याम्पस प्रशासन समक्ष आग्रह समेत गरे । यसअघि स्ववियु निर्वाचन पूर्ण समानुपाति प्रणालीमा गर्न माग राख्दै विप्लव निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतका विद्यार्थीले ६ दिनअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।