चितवन, फागुन ४–
राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सबका अवसरमा आज चितवनमा पत्रकारहरुका लागि ‘पूर्ण स्वास्थ्य परीक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय समाचार समिति र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका १५० भन्दा बढी पत्रकारहरुले स्वास्थ परीक्षण गराएका छन् ।
यही फागुन ७ गते राष्ट्रिय समाचार समितिले आफ्नो ५६ औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अबसरमा विभिन्न क्षेत्रमा अहिले कार्यक्रमहरु चलिरहेका छन् । चितवनमा आज भएको उक्त कार्यक्रममा बोल्नुहुँदै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससको वार्षिकोत्सवका अबसरमा कलेजले गरेको सहयोग अतुलनिय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।
रासस नेपालको एक मात्र समाचार एजेन्सी भएको जानकारी दिंदै उहाँले सेवा प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।
चितवन जिल्ला मेडिकलको हबको रुपमा स्थापित भएको उहाँको भनाई थियो । अध्यक्ष वाग्लेले ७५० शैया रहेको यस अस्पतालले देखाएको बाटो उत्साहप्रद भएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले रासस र कलेजले पत्रकारहरुका लागि स्वास्थ्य परीक्षण राख्नु सकारात्मक भएको बताउनुभयो । उहाँले अरुका लागि काम गर्ने पत्रकारहरु स्वस्थ्य हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्राध्यापक डा.हरिश्चन्द्र न्यौपानेले रासससँग सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै हरेक मानिसले ६/६ महिनामा स्वास्थ्य जाँच गराउनु आवश्यक भएको बताउनुभयो । कार्यक्रमा नेपाली काँग्रेसका सभापति जीतनारायण श्रेष्ठ, एमाले चितवनका स्वास्थ्य विभाग प्रमुख अरुण पीडित भण्डारी, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिनालगायत स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, चितवनका प्रहरी प्रमुख दिपक थापा, भरतपुर उपमहानगरका प्रमुख महेश बराल, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झा लगायतको सहभागिता थियो । कार्यक्रम रासस चितवन शाखाका प्रमुख नारायण अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
पत्रकारलाई उपचारमा २० प्रतिशत छुटको घोषणा
चितवन मेडिकल कलेजले उपचारमा पत्रकारहरुका लागि २० प्रतिशत छुटको घोषणा गरेको छ । राससको ५६ औं बार्षिकोत्सबका अबसरमा आज चितवनमा भएको पूर्ण स्वास्थ्य परीक्षणका क्रममा कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपानेले यस्तो घोषणा गर्नुभएको हो । परिचयपत्रको आधारमा हरेक सेवामा पत्रकारलाई सो छुट सुविधा दिईने उहाँले जानकारी दिनुभयो ।
नेपाली चिकित्सकहरुको लगानीमा खुलेको कलेज आईएसओबाट मान्यता प्राप्त एकमात्र मेडिकल कलेज भएको अस्पतालको भनाई छ । यहाँ हाल १ हजार २०० स्टाफ र २ हजार २०० बढी विद्यार्थीहरु छन् । वार्षिक कलेजले ४ लाख १७ हजारलाई ओपिडि सेवा दिंदै आएको जनाईएको छ ।
स्वास्थ्य मन्त्रालयमा दर्ता भएको नेपालकै सबैभन्दा ठुलो अस्पताल बनेको यो कलेजमा सबैभन्दा बढी विशेषज्ञ चिकित्सक रहेको व्यवस्थापक पारश अधिकारीले जानकारी दिनुभयो । रिफरल सेन्टरको रुपमा रहेको कलेजले सेवालाई चुस्त पार्न अत्याधुनिक उपकरण सहित विशेषज्ञ चिकित्सकहरु राखेर सेवा प्रभावकारी बनाउँदै लगेको समेत उहाँको भनाई छ ।