हेटौंडा, फागुन ३–
मानव बेचविखन बिरुद्धको अभियानमा सबै सरोकारवालाले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । आज (मंगलबार) हेटौँडामा आयोजित मानव बेचविखन बिरुद्धको सवालमा प्रभावकारी सेवा सम्बन्धी समन्वयात्मक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रम अमेरिकी सहयोग नियोग(यूएस्एआईडी) र द एसिया फाउण्डेशनको सहयोगमा शक्ति समूहले आयोजना गरेको हो । कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, अधिबक्ता, प्रहरी कार्यालय, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष पुष्करबहादुर थापा क्षेत्री र जिल्ला बार एशोसिएसनका अज्मिर केशीले कानुनी सहयोग गर्न आफुहरु तयार रहेको बताउँनुभयो । हेटौँडा उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रबन्धक भिमप्रसाद तिमल्सिनाले श्रोत पर्याप्त भएकाले सरोकारवालाले प्रभाबकारी रुपमा समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका पुष्कर भट्टराईले सीप सिकेर आयआर्जनमा सहभागी हुन चाहनेलाई सहयोग जारी रहेको बताउँनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति नारायण भण्डारी, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, गैरसरकारी संस्था महासंघ मकवानपुरकी कुमारी वाईबा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शक्ति समूह क्षेत्रीय कार्यालय हेटौँडाकी परियोजना संयोजक अस्मिता तामाङ्गले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शक्ति समूह केन्द्रिय कार्यालय काठमाडौँकी परियोजना संयोजक सरला तामाङ्गले स्वागत तथा कार्यक्रमको उदेश्यबारे बताउँनुभएको थियो । कार्यक्रम शक्ति समूह केन्द्रिय कार्यालय काठमाडौँका कानुन तथा तालिम संयोजक दीलिप कोईरालाले समापन गर्नुभयो ।