–मीनराज वसन्त
यो केवल संयोग मात्रै हुन सक्दैन
तिमीसँगको भेट
यो कुनै वियोग मात्रै पनि हुन सक्दैन
तिमीसँगको बिछोड
सरसर्ती अब म
तिमी जानुअघिका केही कुराहरू सम्झिन्छु
सानो कसिङ्गर वा
धूलोको कण पर्दा पनि बिझाउने
यी नानीहरूमा
अचम्म छ
आएर कसरी बस्यौ तिमी सिङ्गै ?
आफ्ना दुःख बाहेक
अरु सबै धमिलो देखिरहेका मेरा आँखाहरूले
तिव्र ज्योतिमय चमत्कारको अनुभूति
कसरी गरे
यो पनि छ, अचम्म
र यही अचम्मै अचम्मका
दुई प्यासा किनार छोएर
वारपार(वारपार गरिरहन्छ
प्रेम बोकिरहँदै एउटा डुङ्गा
हिँड्दा ठेस लागेर
रगतपच्छे भइने यी कठिनतम् पथहरूमा
हामीले, बडो जतनका साथ बचाइ राखेका थियौँ
आँफूलाई
दौडिँदा लडिने
यहाँका फराकिला सडकहरूमा हामीले
सिकेका हौँ सम्हालिन, आ(आँफै
प्रेम परिक्रमाको शिलशिलामा
यहाँ यस्ता कुनै गल्लिहरू
बाँकी छैनन्
जहाँ नटक्टकिएको होस्
फुस्स हाम्रो पाइतालाको धूलो
कुनै बाग बगैँचा, मन्दिर, डेटिङ स्पट पनि
बाँकी छैनन्
जहाँ अझैसम्म पुगिसकेको नहोस्
एक अल्लारे जोडिको प्रेम प्रसंग
तर, जब तिमी
भासिँदै गयौ अर्को शहरको क्वेक स्यान्डमा
छुटिगयो,
मेरो कान्छी औँलामा
साङ्ली पार्ने एउटा अर्को कान्छी औँला
गुर्ड मर्निङ र गुड नाइटवाला किस
तिमीले आधा टोकेर दिने
डेरि मिल्क
दुब्ला गालामा प्याट्ट हिर्काउने
कोमल एउटा हात
यी सबै छन् छुटेका
तिमी गएपछि
सुनसान सुनसान र श्मशान छ यता
ओह प्रिय
शहर पसेर
किन बिर्स्यौ तिमीले यसरी
किन फर्किन मानेनन्
त्यहाँबाट
तिम्रा एकजोडा गोडा
के थाहा पनि छ तिमीलाई ?
तिमी गएको थाहा पाएरै
मोबाइलको कमजोर नेटवर्क जस्तो
पटकपटक जाँदै आउँदै गरिरहेको छ
मेरो प्राण पनि ।