काठमाडौं, फागुन ३ –
कानुन मन्त्रालयले सहमति दिए यो महिनाभित्रै शिक्षा नियमावली आउने सम्भावना रहेको छ । कात्तिक महिनामै शिक्षा मन्त्रालयले नियमावलीको पहिलो मस्यौदा तयार गरेपनि पक्रियागत रुपमा अघि बढ्नुपर्दा समय लागेको शिक्षा मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयमा एक महिनाभन्दा धेरै समय थन्किएको मस्यौदा गएको माघ १० गते कानुन मन्त्रालयमा पठाइएको छ । अहिले त्यहाँ दोस्रो चरणको अध्ययन सुरु भएकाले अब छिट्टै शिक्षा नियमावली तयार हुने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताउनुभयो ।
शिक्षा ऐन संशोधनको सात महिनापछि नियमावली संशोधनको प्रक्रिया अघि बढेको हो । कानुन मन्त्रालयले सहमति दिएपछि शिक्षा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लानेछ । मन्त्रिपरिषदले पारित गरेपछि शिक्षा नियमावली कार्यान्वयनमा आउनेछ ।
यसअघि अर्थले ठूलो खर्च बेहोर्नुपर्ने भन्दै सहमति नदिँदा नियमावली संशोधन प्रक्रिया रोकिएको थियो । नियमावली कार्यान्वयन गर्न २७ अर्ब रुपैयाँ खर्च लाग्ने भएकाले अर्थले सहमति दिन आनाकानी गरेको थियो । त्यो खर्चलाई वार्षिक आधारमा भाग लगाएपछि अर्थले सहमति जनाएपछि मस्यौदा कानुन मन्त्रालयमा पुगेको हो ।