झापा, फाल्गुन २-
झापाको दमकमा विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको मूर्ति निर्माण प्रक्रिया सुरु भएको छ ।
मूर्तिमात्रै १६४ मिटर अग्लो हुनेछ । ‘मूर्तिको बेसमा ३ तल्ला हुन्छ,’ दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘तलसमेत जोड्दा १९४ मिटर अग्लो हुन्छ ।’‘विराट बुद्ध प्रतिमा आयोजना’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । राजधानीमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष डीपीआर सार्वजनिक गरियो । पूर्वपश्चिम राजमार्गको दमक चौकबाट १५ किलोमिटर उत्तरमा मूर्ति रहनेछ ।
आयोजनाका लागि अहिले ३६ बिगाहा जमिन छुट्याइएको छ । तर सरोकारवालाहरुले भने उक्त जमिन थोरै भएको भन्दै थप जमिन अधिग्रहण गर्न माग गरेका छन् । पूर्ववर्ति ओली सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माण गर्ने योजना अघि सारेको थियो ।