काठमाडौं, फागुन २–
ठूला करदाता कार्यालयले एनसेलको सेयर बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा (हाल टेलिया कम्पनी) उम्कन नसक्ने बताएको छ । उसले यो कर संकलन गर्न आवश्यक परे स्विडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी भईरहेको जनाएको छ ।
ठूलाकरदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले बिहिवार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा बताएका हुन् । ‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसंधानको चरणमा छौं । टेलियाले कर तिर्नु पर्छ,’ पौडेलले उक्त कार्यक्रममा भनेका छन् ।
टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारी स्तरमा उठाउने छ, पौडेलले एसभिटीसँगको अन्तर्वातामा भने । ‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयलाई जानकारी गराउने छ, जसको स्विडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौ,’ पौडेल भन्छन् ।
नेपाली कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारको रुपमा चर्चित एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझाएको छैन् । उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।
उक्त कार्यक्रममा टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्ड यहि अडान दोहोर्याएका छन् । नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता रहेको उल्लेख गर्दै उनी भन्छन् ‘हामी कर तिर्छौ यदि कानूनी आधार छ भने मात्र । कानूनी आधार नभएले कर तिर्नु कुनै विकल्प होइन र हामी माथि करको दाबी भएको पनि छैन ।’
नेपालमा संसदीय समिति देखि कर विज्ञ समेतले एनसेलतर्फ लाभकरको दायत्वि स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन पहल नगरेको पनि उक्त कार्यक्रमले खुलस्त पारेको छ । सार्वजनिक लेखा समितिले सरकारलाई यो सेयर कारोबारको लाभकर तिन महिना भित्र उठाउन निर्देशन पनि दिइको थियो ।
‘कारोबार सम्पन्न हुने वितिक्कै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गरायौं । त्यस पछि हामीले कुनै पत्र पाएका छैनौं,’ डेनेलिन्डले सो कार्यक्रममा भनेका छन् ।
तर उक्त कार्यक्रममा अर्थमन्त्री कृष्ण बहादुर महरा, पूर्व अर्थ सचिव तथा मुख्य सचिव बिमल कोईराला, पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव विद्याधर मल्लिक लगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नु पर्ने बताएका छन् । ‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन् ।
‘सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नु पर्छ । नेपालको आयकर ऐनले यहि भन्छ । त्यसैले टेलियाले लाभकर तिर्नु पर्छ । राम्रो काम गरेको थियौं भनेर यसबाट उम्कन सकिंदैन । टेलियासोनेरा जस्तो कम्पनीबाट यस्तो भनाईं आउनु हुँदैन थियो,’ पूर्व अर्थ सचिव खनाल भन्छन् ।
आफुहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सहयोग लिएर आयकर ऐन बनाएको बताउदै पूर्व अर्थ सचिव तथा मुख्य सचिव कोईराला भन्छन्, ‘यो अन्य मुलुकका कर कानूनभन्दा आधुनिक छ । टेलियाले जस्तो सुकै संरचना मार्फत लगानी गरेको भए पनि बेचेको त यंिह भएको सम्पत्ति हो । त्यसको मूल्य पनि यहिं कारोबार गरेर बढाएको हो । त्यसैले लाभकर तिर्नु पर्छ।’
आयकर ऐन लेखनमा संलग्न तत्कालिन कर विभागका महानिर्देशक तथा पूर्व अर्थ सचिव मल्लिक अनुसार नेपालमा कर तिर्नु पर्दैन भन्ने टेलियाको अडानबाट उनी अचम्मित छन् । ‘टेलियाले यस्तो भन्नु हुदैनथ्यो । किनभने उसले नेपालमा रहेको सम्पत्ति कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्ने हो,’ उनले भने ।
टेलियाकै देश स्विडेनबाट आएर त्यहाँको टेलिभिजनले बनाएको कार्यक्रममा प्रस्तोता भन्छन् नेपालको आयकर ऐनले स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायीत्व बहन गर्न पनि सुझाव दिएको छ ।
उक्त कार्यक्रमका निर्माता भनेका भन्छन् नेपालका अधिकारी, राजनितिक तह तथा सभासद भने टेलियालाई कर तिराउनलाई प्रयास गर्नु भन्दा एनसेल तथा खरिदकर्ता आजियाटालाई दबाब दिइरहेका छन् । यसै अन्तर्गत एनसेलले करिब १० अर्ब रुपैयाँ अग्रिम कर तिरीसकेको छ । बाँकी कति तिर्नु पर्छ कसैले यकिन गर्न सकेको छैन किनभने टेलियाले कर विवरण बुझाएको छैन ।
बजारमा विभिन्न व्यक्तिले विभिन्न अंक बताई रहे पनि कर कार्यालयले केहि निक्र्योल गरिसकेको छैन । ‘टेलियाबाट केहि प्राप्त भएको छैन । हामी अनुसन्धान गरिरहेका छौं,’ ठूला करदाता कार्यालय प्रमुख पौडेल भन्छन् ।
उता टेलियाका अनुसार उसलाई कुनै दाबी नआएको, उसले केहि गल्ती नगरेका र उ नेपालमा कर तिर्न बाध्य पनि नभएको बताएको छ । ‘सहि सँधै सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानूनी आधार छ भने । हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) प्राप्त गरेका छौं, जोड घटाउ शुन्य छ । नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं,’ टेलियाका प्रमुख कार्यकारी डेनेलिन्ड भन्छन् ।