Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चुनावी झल्को दिने गरी चितवनमा एमालेको घरदैलो अभियान – Gaule Khabar

चुनावी झल्को दिने गरी चितवनमा एमालेको घरदैलो अभियान

चुनावी झल्को दिने गरी चितवनमा एमालेको घरदैलो अभियान

चितवन,फागुन १-

चुनाव आएपछि मात्र जनताको घरदैलोमा भोट माग्नका लागि पुग्ने राजनीतिक दलहरु अहिले पार्टीको अभियान भन्दै जनताको घरदैलोमा छन् । शहरदेखि गाउँसम्म दैनिकरूपमा मुख्य दलका नेता कार्यकर्ताहरु घरदैलोमा पुग्ने गरेका छन् ।

‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यान्वयन एमालेको अभियान’ भन्ने मुख्य नाराका साथ एमाले चितवनले घरदैलो अभियान गरिरहेको छ । नेपाली कांग्रस चितवनले जनताको घरदैलोमा पुगेर संगठन सुदृढीकरण तथा जागरण अभियान सम्पन्न गरिसकेको छ ।

‘अहिलेको राष्ट्रिय आवश्यकता भनेको संविधान कार्यान्वयन नै हो’, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले भने,‘ राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानका लागि पार्टी अहिले जनताको घरदैलोमा चेतना र जागरणका लागि हिँडिरहेको छ ।’

‘चुनावको समयमा मात्र घरदैलोमा भोट माग्ने दलहरु अहिले स्थानीय निकायको चुनावको चर्चा भएको तर मिति घोषणा भने नभएको अवस्थामा घरदैलोमा आउँदा जनताप्रति दलहरु उत्तरदायी बन्दै गएको पाएको छु’ रामनगरका युवा होटल व्यवसायी प्रकाश बरालले भने ।
अभियानमा जनताको उत्साहपूर्वक सहभागिता रहेको एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले बताए । अहिले एमाले चितवनले १५ दिने घरदैलो अभियान तीव्र पारेको छ । देशव्यापी रुपमा सञ्चालन गरिएको अभियान फागुन ५ गतेसम्म चल्ने छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा अभियान केन्द्रित रहेको छ । एमाले जिल्ला नेता कार्यकर्तालाई यतिबेला घरदैलोले फुर्सद छैन् । जिल्लाका १३६ इकाइमा घरदैलो अभियान गरिएको छ । केन्द्रीय तहका नेताहरु पनि घरदैलो अभियानलाई सफल बनाउन चितवन आइरहेका छन् । केहिदिन अघिमात्र एमाले वरिष्ठ नेता झलनाथ खनाल चितवन आएका थिए भने गृह जिल्लाको घरदैलो अभियानमा नेता सुरेन्द्र पाण्डे दैनिकरुपमा व्यस्त छन् ।

शनिबार नारायणी नगरपालिकाअन्र्तगत जगतपुरमा भएको घरदैलोमा एमाले सचिव पृथ्वीसुव्वा गुरूङ, केन्द्रीय सदस्य केदार न्यौपाने सहभागी भएका थिए । यस्तै पश्चिम चितवनको पदमपुर क्षेत्रमा एमाले नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा घरदैलो अभियान गरिएको छ ।
जनताको घरघरमा गएर संविधान संशोधन बेठीक छ भन्ने कुरा बुझाउनुका साथै प्रर्चा वितरण गरिएका एमाले चितवनकी सचिव पार्वती रावलले जानकारी दिइन् । राजनीतिक निकास र देश विकासका लागि जनताको सुझाव संकलनसमेत गरिएको रावलले बताइन् ।

नेपाली कांग्रस चितवनले जनताको घरदैलोमा पुगेर संगठन सुदृढीकरण तथा जागरण अभियान सम्पन्न भइ हाल स्थानीयस्तरका पार्टीका सम्मेलनहरु जारी रहेको पार्टी सभापति जीतनारायण श्रेष्ठले बताए । सभापति श्रेष्ठका अनुसार जिल्लाका १३४ वडा सम्मेलन सकिएको बताए ।‘कार्यालय स्थापना, जागरण, घरदैलौ भइरहन्छ’, सभापति श्रेष्ठले भने, ‘अब हुने भनिएको स्थानीय निकायको चुनाव लक्षित गरेर पनि अभियान चलाइरहेका छौं ।’

शनिबारमात्र दर्जनौ कार्यक्रम
यसै अवसरमा एमाले चितवनले जिल्लाको विभिन्न ठाउँमा दर्जनौ घरदैलो कार्यक्रम गरेको छ ।

रत्ननगर नगरपालिका वडा नं. ७ मा घरदैलो तथा जनपरिचालन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेताहरु केदार न्यौपाने, संसद तथा पोलिटव्युरो सदस्य काशीनाथ अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले पार्टीका योजनाका विषयमा मन्तव्य राखेका थिए । जनताको समस्याका बारेमा पार्टीले सदैव आवाज उठाएको र अब निर्वाचनको माहौलतर्फ देश अगाडि बढेको जिल्ला अध्यक्ष पोखरेलले बताए ।

त्यस्तैगरी भरतपुर उपमहानगरपालिका वडा नं. ४ र ३ मा शनिबार घरदैलो तथा जनपरिचालन कार्यक्रम सम्पन्न भएका छन् । पार्टीका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको अगुवाइमा भएको कार्यक्रममा वडा नं. ४ का इन्चार्ज चक्र रुचालले कार्यक्रमलाई संयोजन गरेका थिए । बेलचोकबाट सुरू भएको कार्यक्रम सहिदचोक, लायन्सचोकलगायतका स्थानमा पार्टीले आगाडि सारेको राष्ट्रियता, स्वाधिनता, जनताको बहुदलीय जनवादका विषयमा जानकारी गराएको प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए ।

यस्तैगरी एमाले चितवनको तल्लो तहका इकाइहरुले शनिबार पूर्वीचितवनको पदपुर, जुटपानी, शक्तिखोर, पिप्ले, भण्डारा, खैरहनी, त्यसैगरी मेघौली, पटिहानी, जगतपुरलगायतको स्थानमा घरदैलो कार्यक्रम गरेका छन् ।चितवन पोष्ट दैनिकवाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका