मेलम्ची, माघ २७–
सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
बुधबार घर जानेक्रममा सडक नजिकै रहेको फलामको विद्युतीय पोलमा छुँदा करेन्ट लागेर बाँसखर्क–७ का ३० वर्षीय निहमा ग्याल्बो बोम्जनकोे घटनास्थमै मृत्यु भएको हो । फलामको पोलमा ११ हजार भोल्टेजको करेन्ट चुहावट भएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।
घटनाको वास्तविकता बुझ्नका लागि विद्युत् प्राधिकरणका कर्मचारीसहित प्रहरी घटनास्थल पुगेको थियो । करेन्टका कारण मृत्यु भएका बोम्जनको शव मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र ९अस्पताल०मा शवपरीक्षणपश्चात् आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयो ।
विद्युत् प्राधिकरणको लापर्वाहीका कारण वर्षैपिच्छे अकालमा ज्यान गुमाउन बाध्य छन् सिन्धुपाल्चोकवासी । विद्युत्कोे उचित व्यवस्थापन नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको स्थानीयवासीको ठहर छ । जिल्लाभरि नै पटकपटक विभिन्न समयमा कहिले हाइभोल्टेज त कहिले बिजुलीको खम्बा ढलेर र विभिन्न क्षेत्रमा विद्युत्का तार लत्रिएर हुने मानवीय क्षतिप्रति प्राधिकरणले हालसम्म कुनै चासो दिएको पाइँदैन ।
सडक किनारमा रहेको बिजुली तार व्यवस्थापन गर्न निवेदन दिँदासमेत प्राधिकरणले चासो नदिएकाले यस्तो दुर्घटना भएको स्थानीयवासीको गुनासो छ । समयमै निवेदन दिँदा ध्यान नदिने र पछि दुर्घटना हुँदा बच्न खोज्ने प्रवृत्ति रहेकाले अब छिट्टै यस्तो गैरजिम्मेवार कामको अन्त्य हुनुपर्ने सिन्धुवासी बताउँछन् । –रासस