चितवन, माघ २६–
बालबालिकाको उद्धार तथा सामाजिक पुर्नस्थापन सम्बन्धी दुई दिने तालिम बुधबारदेखी रत्ननगरमा सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले सडकमा काम गर्ने बालबालिकाहरुको संरक्षण हुन नसकेपछि समाजमा अशान्ति आउन सक्ने भएकाले संरक्षणको कार्यलाई दायित्वको रुपमा सवैले लिनु पर्नेमा जोड दिए । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष ज्ञानबहादुर विसुरालले रत्ननगरमा संचालनमा रहेको बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमले चेतना फैलिदै गएकाले कार्यक्रम प्रभावकारी देखिएको बताए । रत्ननगरलाई बालश्रम मुक्त र बालमैत्री नगर बनाउने अभियान अन्र्तगत तालिम दिईएको हो । तालिममा युनिसेफ नेपाल भरतपुर क्षेत्रीय कार्यालयका बाल संरक्षण कार्यक्रम संयोजक बामदेव खनाल र महिला तथा बालबालिका कार्यालय भरतपुरकी श्रोत व्यक्ती मिठु आचार्यले सहजीकरण गरेका छन् ।
बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमकी जनसम्र्पक अधिकृत मीना खनालका अनुसार विहीबार सम्म चल्ने तालिममा वडा नागरिक मंचका संयोजक, टोल विकास संस्थाका अध्यक्ष, बाल मैत्री स्थानीय शासन समितिका प्रतिनिधी, बाल संजालका प्रतिनिधीहरुको सहभागीता रहेको छ । संघका अध्यक्ष बिसुरालको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफ नेपालका बाल संरक्षण कार्यक्रम संयोजक बामदेव खनालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए । विगत तीन वर्ष देखी रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर नगरपालिकाका र युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण गर्दै बाल श्रम न्यूनीकरण कार्यक्रम संचालन गर्दै आईरहेको छ ।