नवलपरासी,माघ २६ –
देवचुली उद्योग वाणिज्य संघले आउँदो फागुन ६ गतेदेखि देवचुली महोत्सव गर्ने भएको छ। पहिलो पटक गर्न लागिएको देवचुली महोत्सव ११ दिन चल्ने छ। नवलपरासीको देवचुलीमा बसोवास सुरु भएको ५० वर्षको अवसर पारेर गर्न लागिएको महत्सवको लागि झण्डै ७५ लाख रुपैयाँ खर्च गर्ने तयारी आयोजकको छ। स्थानीय कृषि उत्पादन तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष धर्मराज बस्यालले बताए। फागुन ६ गते देखि १६ गतेसम्म हुने महोत्सवमा २ सय स्टल बुकिङ भैसकेका छन्। डेढ लाख जनाले महोत्सव अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ। मेलामा कम्तिमा ५० लाख रुपैयाँ आम्दानी गर्ने र आम्दानी मध्येको ७० प्रतिशत उद्योग वाणिज्य संघको भवन निर्माण र ३० प्रतिशत रकम स्थानीय विकासमा खर्चने आयोजकले जनाएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले मेलाको उद्घाटन तथा उद्योग वाणिज्य संघ देवचुलीको भवन शिलन्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष बस्यालले जानकारी दिए।