काठमाडौ,माघ २६-
डिभी र पिआरवालालाई भाटो लगाएर चर्चामा छाएका पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागि आत्महत्याको बाटोमा अग्रसर भइरहेको आरोप लगाएका छन ।
रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताए । सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामिरहेको बताउँदै उनले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताए ।
निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुने बताउँदै उनले सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचीत्य समाप्त हुने हुने समेत तर्क गरेका छन ।
निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने तर्फ संकेत गर्दै पूर्वमन्त्री पण्डितले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न खुट्टा नकमाउन सरकारसँग आग्रह समेत गरे ।
देश विभाजनको मुख्य अगुवाको घोडा बनेर कतिपय राजनीतिक पार्टी हिडिरहेका प्रति तितो पोख्दै पूर्वमन्त्री पण्डितले नेपाली जनतालाई विश्वास छ कि नेपाली जनताको अभिमतले नै देश टुक्राउन खोज्ने, अरुको घोडा बनेर हिड्ने अनि माकुराको जालोजस्तै विष छदै हिड्ने ती घोडाको पनि टांग अर्थात घुटटा भाचिदिने छन् । विषपूर्ण जालोलाई पनि च्यातीदिने छन् र सुनौलो राजनीतिक स्थायीत्वसहितको भविष्यको निर्माण गर्नेछन् । हामी कसैसँग दुस्मन गर्न चाँहदैनौं तर कसैले दुस्मन लाद्छ भने हामी हाम्रा टाउका निउराएर लुरुलुरु उनीहरुको कुरा मान्न तयार छैनौ, उनले भने ।