झापा, माघ २५–
शिक्षामन्त्री धनिराम पौड्यालले शिक्षकले राजनीति गरेका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको बताउनुभएको छ ।
झापाको लखनपुरस्थित आदिवासी रङ्गशालामा सुरु भएको बाल महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले राजनीति गर्ने शिक्षकको अब विद्यालयमा काम नभएको उल्लेख गर्दै राजनीति गर्ने शिक्षकले काम छाड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीति गर्ने हो भने शिक्षकको जिम्मेवारीबाट मुक्त हुनुपर्छ ।”
मन्त्री पौडेलले कुनै दलको कार्यकारी पदमा नबसी भातृ सङ्गठनमा बस्न भने पाइने सुझाव दिनुभयो ।
मन्त्री पौड्यालले नेपालको शिक्षा व्यावहारिक नभई प्रमाणपत्रमुखी हुँदा शैक्षिक बेरोजगारीको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालको शिक्षालाई आठौँ संशोधनले प्राविधिक र व्यावसायिक बनाएको छ अब शैक्षिक बेरोजगारको सङ्ख्या घट्छ ।”
शिक्षामन्त्री पौडेलले सरकारले ल्याएको शिक्षा ऐनको आठौँ संशोधन बालबालिकामैत्री रहेको दाबी गर्दै भन्नुभयो, “आठौँ शिक्षा ऐन बालबालिका मैत्री छ, यसको कार्यान्वयन गर्न सबैको साथ आवश्यकता छ ।”
यही माघ २९ गतेसम्म चल्ने महोत्सवमा झापा, इलाम, सुनसरी र धनकुटाका गरी करिब डेढ लाख बालबालिकाले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुने महोत्सवमा बालगायन, वतृत्वकला, चित्रकला, फोटो प्रर्दशनी, नृत्य, नाटक, बाल कराते, विज्ञान तथा सूचनार प्रविधिसम्बन्धी प्रतियोगिता र प्रर्दशनी हुने मूल आयोजक समितिका संयोजक सन्तोष भण्डारीले बताउनुभयो । –रासस