ललितपुर,माघ २५
जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु ‘कुखुराले भुतभुते खेलेझै’ गरेर माटो खोस्रिरहेका छन् । लाग्छ, त्यहाँ कुनै बहुमूल्य बस्तु हराएको पो हो कि ?तर, केही हराएको होइन, भेटिएको रहेछ । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो ।
स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल – पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।
सोमबार पैसाको भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।
आज मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोस्रिरहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन । – अनलाइन खबरबाट