Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३० जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै (जिल्लाको नामसहित) – Gaule Khabar

३० जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै (जिल्लाको नामसहित)

३० जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै (जिल्लाको नामसहित)

काठमाडौं,माघ २४-

सरकारले आगामी फागुनमा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ। स्वास्थ्य मन्त्रालयले यो वर्षको अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ।

स्वास्थ्य सेवा विभाग अन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आगामी फागुन २१, २२ र २३ गते ३० जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको हो। महाशाखाका अनुसार तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथहरुमा औषधि खुवाइने छ भने दोस्रो र तेस्रो दिन घरदैलो कार्यक्रम हुनेछ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए। यस्तै, खाली पेटमा उक्त औषधि सेवन गर्नु हुँदैन। महाशाखाले विगत दुई चरणमा विभिन्न जिल्लालाई वर्गीकरण गर्दै औषधि खुवाउँदै आएकोमा यो वर्ष एकै चरणमा ३० जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो।

हात्तीपाइले रोग विरुद्ध डाइइथाइलकार्बामाजिन (डिइसी) चक्की र अल्बेन्डाजोल (जुकाको) चक्की गरी दुई प्रकारका औषधि खुवाइनेछ। हात्तीपाइले रोग निवारणका लागि प्रयोग हुने औषधि चक्कीको सेवनले यस रोगको परजीवी नष्ट गर्नुका साथै पेट र आन्द्रामा हुने विभिन्न थरिका अङ्कुशे, गोलो जुका, चुर्ना आदिको उपचार भई लाभ हुने डा. आचार्यले जानकारी दिए।

आचार्यका अनुसार नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ। जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेका छन्।

काठमाडौं र भक्तपुरमा पनि विगतमा औषधि खुवाइन्थ्यो तर यहाँ हात्तीपाइले रोगको प्रसार दर (प्रिभिलेन्स रेट) १ प्रतिशतभन्दा कम भएकाले औषधि खुवाउने कार्यक्रम रोकिएको हो। यो रोगको प्रिभिलेन्स दर १ प्रतिशतभन्दा कम भएमा उक्त क्षेत्रलाई निवारणउन्मुख क्षेत्र मानिन्छ।

यी हुन् यो वर्ष औषधि खुवाइने ३० जिल्ला

१. पाँचथर    २. इलाम             ३. झापा            ४. मोरङ      ५. सुनसरी
६. धनकुटा    ७. भोजपुर          ८. तेह्रथुम          ९. उदयपुर
१०. ललितपुर    ११. लमजुङ     १२. पर्वत           १३. म्याग्दी
१४. बाग्लुङ    १५. कपिलवस्तु    १६. दाङ           १७. बाँके
१८. बर्दिया    १९. सुर्खेत            २०. दैलेख         २१. जाजरकोट
२२. कैलाली    २३. कञ्चनपुर      २४. डडेलधुरा     २५. डोटी
२६. अछाम    २७. बाजुरा           २८. बझाङ          २९. बैतडी    ३०. दार्चुला

पर्साबाट सुरु भएको थियो औषधि खुवाउने कार्यक्रम

महाशाखाका जनस्वास्थ्य निरीक्षक तुलसी अधिकारीका अनुसार जीवनभर अपाङ्ग, अशक्त भएर बाँच्नुपर्ने हात्तीपाइले रोग निवारणका लागि स्वास्थ्य मन्त्रालयले सन् २००३ देखि औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो वर्ष उक्त औषधि पर्सा जिल्लाबाट सुरु गरिएको थियो।

पर्साको प्रिभिलेन्स दर १ प्रतिशतभन्दा कम भइसकेपछि त्यहाँ पनि औषधि खुवाउने कार्यक्रम बन्द भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० भित्र विश्वबाट नै यो रोग निवारण गर्ने लक्ष्य लिएअनुरूप नेपालमा पनि हरेक वर्ष निःशुल्क औषधि खुवाउने गरिन्छ।

निर्देशक डा. आचार्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको औषधि भएका कारण यसको सेवनमा कुनै शंका नगर्न भनेका छन्। ‘सबै नागरिकले यो औषधि ढुक्क भएर खाँदा हुन्छ’ उनले भने, ‘औषधिको विषयमा कसैले पनि शंका गर्नुपर्दैन।’ हात्तीपाइले विरुद्धको औषधि तालिम प्राप्त स्वास्थ्य स्वयंसेवकहरुले खुवाउने निर्देशक डा. आचार्यले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका