Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गैडाकोटमा भाषणसँगै अन्तरजातीय जोडीको लगनगाँठो – Gaule Khabar

गैडाकोटमा भाषणसँगै अन्तरजातीय जोडीको लगनगाँठो

गैडाकोटमा भाषणसँगै अन्तरजातीय जोडीको लगनगाँठो

गैडाकोट,माघ २४-

फरक जात जातिका युवा युवतीबीच प्रेम बसे बिहे सम्भव होला कि नहोला ? नेपालमा गाह्रै हुन्छ । यस्तो अवस्था उत्पन्न भएमा अभिभावकको अड्चन बनेर आउँछ र प्रेमीप्रेमीकाहरु कि बिहे टार्छन् वा भागेर बिहे गर्छन् । तर, विदुर शर्मा चालिसेलाई यस्तो भएन । आफूले प्रेम गरेकी युवती फरक जातिको भइकन पनि बिहेका लागि अभिभावकले नै रूची देखाए ।

ठूलो बुबानै अगाडि सरेर प्रेमिकाको परिवारसँग कुरा गर्न तम्सेपछि विदुरले आफूले प्रेम गर्दै आएकी खीमा पुन मगरसँग आइतबार गैंडाकोटमा बिहे सम्पन्न गरे । उपाध्य बाहुन विदुरशर्मा चालिसेले मगर कन्या खीमा पुनसँग लगन गाँठो कस्दा अरु कुराहरु पनि परम्पराभन्दा अलग थियो ।

वैवाहिक कार्यक्रममा न त पूजा गर्ने जग्गे थियो न मन्त्र उच्चारण गर्ने ब्राह्मण नै । कार्यक्रममा बरबधुका अभिभावकका साथै राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरु उपस्थित भएर शुभकामनाका शब्दहरु राखे । बर बधुले एक अर्कालाई निधारमा अबिर लगाउँदै खाँदा र माला पहिराइ दिए । एकाधले सामान्य खालका उपहारहरु पनि दिए । दुलाहा विदुरका बुबा चुडामणि चालिसे यी दृश्य मख्ख मान्दै नियालेका थिए ।

चुडामणिका एक्ला छोरा हुन विदुर । ‘छोरोको इच्छा, छोरोको रोजाइ । यसले नराम्रो केही हुँदैन । समाजलाई जोड्ने काम नै गर्छ’ चुडामणिले भने । बाग्लुङ जैदी मुलथलो भएका चुडामणि नवलपरासी गैंडाकोटमा बस्दै आएका छन् । रोजगारका लागि दक्षिण कोरिया गएका विदुर पाँच वर्षपछि बिहेका लागि घर आएका हुन् । बधु खीमाको घर म्याग्दीको निसकोटमा हो ।

‘छोरो आएपछि आफ्नो कुरा राख्यो । खिमाको आफन्तसँग गएर बिहेको कुरा चलाएको मैले नै हो’ विदुरका ठुलो बुबा बलराम चालिसेले भने । बिहेको छिनो फानो अभिभावकहरुको कुराकानीले गरे पनि खीमा र विदुर पूर्वपरिचित थिए । राजनीतिक अभियानमा संलग्न दुवैजनाबीच प्रेम सम्बन्ध पनि थियो । ढकाल र खीमा दुवैजना राष्ट्रिय जनमोर्चा निकटका हुन् ।

विदुर मोर्चा निकटको संगठन नेपाली एकता समाज दक्षिण कोरियाको अध्यक्ष हुन् । खीमा रक्तिम सांस्कृतिक अभियानमा आवद्ध छन् । ‘संगठन मार्फत भएको चिनजान परिचय र प्रेम सम्बन्धलाई आज अभिभावक र सामाजिक व्यक्तित्वहरुलाई साक्षी राखेर दाम्पत्य जिवनको सुरूवात गरेका छौं’ विदुरले भने । अन्तरजातीय बिहे गर्नुका साथै अनावश्यक फजुल खर्च पनि रोकेको दुलाहाका आफन्तहरुले बताए ।

‘जात जातिका कुरा उठाएर समाजमा फाटो ल्याउने काम हुँदैछ । बिहेमा पनि तडक भडक र फजुल खर्च बढाएर आडम्बर प्रदर्शन हुँदैन । दाइजोका नाममा महिलाको ज्यानै लिनेसम्मका घटनाहरु भएका छन् । यी सारा विकृतिलाई रोक्न यस्ता बिहे महत्वपूर्ण छन्’ वैवाहिक कार्यक्रममा मन्तव्य राख्दै अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष गंगा पौडेलले भने ।

‘एउटा छोरो हो अरुले गर्दै आएको झै धुमधामसँग बिहे गर्न नसक्ने अवस्था पनि थिएन । तर, बिहेलाई सामान्य रुपमा नै सम्पन्न गर्ने र अझ समाजलाई जोड्ने सुत्र बनाउने उद्देश्यका साथ छोरोले जे योजना बनायो त्यसमा हामी सबै परिवार सहमत भइयो’ बुबा चुडामणिले भने ।

खीमाकी दिदी होममाया पुन बैनीको रोजाइ र सोचाइ निकै राम्रो लागेको बताइन् । ‘मन मिल्यो बिहे गरियो । हाम्रो बिहेले समाजलाई पनि केही सकारात्मक सन्देश दिन्छ भन्ने आशा छ’ बेहुली खीमा पुनले भनिन् । बिहे सम्झौता भएको हुँदा जीवनलाई अगाडि बढाउने बेलामा आउने मनमुटाव खुला र सौहार्द छलफलले टुङ्ग्याउन महिला राजनीतिककर्मी सरस्वती पौडेलले शुभकामना दिइन् ।

चितवन पोष्ट दैनिकवाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका