काठमाडौँ, माघ २२ –
उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वागमती सफाई महाअभियानको १९५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको जागृती टोलस्थित सुकुम्वासी बस्ती क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो ।
सफाइमा अधिकार सम्पन्न वागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी पाँच सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्केले गर्नुभएको थियो ।
सफाइमा अधिकार सम्पन्न वागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञान नेपालकी निर्मला केसीलगायत अभियानकर्मीको उपस्थिति थियो ।
रुद्रमती सफाइको १५४ औँ हप्तामा आज गोपीकृष्ण पुलदेखि भत्केको पुलसम्मको क्षेत्रमा सफाई गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो ।
सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं। ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरुलगायतको सहभागिता थियो । सफाइको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।
विष्णुमती सफाइको १२७ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा गत हप्ता स्थानीयवासीको कम सहभागिता जुटेकोमा आज उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा भएको सफाइमा निर्वाचन आयोगमा दर्ता भएको विवेकशील नेपाली राजनीतिक दलका अध्यक्ष उज्ज्वल थापा नेतृत्वको समूहसमेत सहभागी थियो ।
यसैगरी गुह्येश्वरीमाथिको वागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् ।
विसं २०७० जेठ ४ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको थियो । वागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् । – रासस