काठमाडौं, माघ १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेशी मोर्चाको सहमतिमात्रै निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन्।
मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्रीका सल्लाहकार खनालले भने,‘सरकार सबै दलको सहमतिमै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ, अहिले निर्वाचनको मिति घोषणा गरेरमात्रै केही हुनेवाला छैन, हुने निर्वाचनको मात्रै मिति घोषणा गर्नुपर्छ भन्ने हाम्रो चाहना हो।’
उनले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दाहाल पनि नहुने निर्वाचनको मिति घोषणा गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले भने,‘प्रधानमन्त्रीज्यूले काँग्रेस, मधेशी मोर्चासँग सहमति गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नुहुन्छ, हामीसँगको कुराकानीमा उहाँले त्यस्तै भन्नुभएको छ।’
उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार आगामी ०७४ माघ ७ गतेसम्म जाने र यही सरकारले तीन तहकै निर्वाचन गराउनेबारेमा समेत अहिले आन्तरिक छलफल भैरहेको जनाए। उनले भने,‘यदि त्यो भएन भने देउवासँग सहमति भएपछि, बैशाखपछि पनि प्रचण्डको सरकारले निरन्तरता पाउँछ।’
त्यस्तै उनले व्यवस्थापिका संसदको म्याद एक वर्ष थपेर जाने समेत खुलासा गरे। उनले भने,‘प्रधानमन्त्री प्रचण्ड सबैसँग गृहकार्यमा जुट्नुभएको छ, म्याद थप्नेबारे अहिले आन्तरिक गृहकार्य सुरु भएको छ।’
आगामी ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ। यही चैत्र÷बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने कुरा अब टरिसकेको छ। त्यतिमात्रै नभएर प्रधानमन्त्री दाहालले जेठको दोस्रो हप्ताभित्रै स्थानीय तहको निर्वाचन हुन्छ र त्यसको लागि यही माघ १५ गतेभित्रै निर्वाचनको मिति घोषणा गर्ने उद्धघोष गरेका थिए, तर त्यो पनि अहिलेसम्म पूरा भएको छैन्।