चितवन, माघ १७–
चितवनका दुई क्षेत्रमा मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गरिएको छ । जिल्लाको चित्रवन नगरपालिका–८ चनौली बजार र माडी नगरपालिका–५ बसन्तपुर बजारमा सेवा विस्तार गरिएको हो ।
आज एक कार्यक्रमकाबीच भूमी सुधार तथा व्यवस्था मन्त्रालयका सचिव कृष्णप्रसाद देवकाटाले सेवा केन्द्रको औपचारि उद्घाटन गर्नुभयो । सेवा केन्द्र उद्घाटन गर्दै सचिव देवकोटाले मालपोत र नापी सम्वेदनशील क्षेत्र भएको भन्दै जनताले सहज सेवा पाउन भन्ने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिनुभयो । “स्थानीय स्तरमा मालपोत र नापीले सेवा दिनु भनेको यो क्षेत्रको विकास हुनु हो, संघीयतामा जाँदै गर्दा यो निकै आवश्यक छ”–उहाँले भन्नुभयो ।
सेवा केन्द्र अन्तरगत माडीको कार्यलयबाट करिव ३७ हजार र चनौलीबाट करिव ८५ हजार स्थानीय लाभान्वित हुने छन् । कार्यक्रममा भूमी सुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टिकाराम घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली काँग्रेसका नगरप्रतिनिधि कमलनाथ भुषाल, नेकपा एमालेका नारदमणी पौडेल, माओवादी केन्द्रका माधव चापागाई र राप्रपा चितवनका निर्देशक समितिका संयोजक बद्री तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । यस्तै सेवा केन्द्र विस्तार अन्तरगत भोली पूर्वी चितवनको खैरहनीमा कार्यालय उद्घाटन गरिने छ ।