काठमाडौँ, माघ १७–
संसदको सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । सोमबार सभापति चयनका लागि भएको निर्वाचनमा माओवादी र काँग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वाचित भएका हुन् । उपाध्ययायले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए ।
माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादी केन्द्रका समानुपातिक सांसद हुन् । एक समय उनी मानव तस्करीमा तानिएका थिए । उपाध्याय सार्वजनिक लेखा समिति सभापति भएपनि कांँग्रेसकै सांसदले आपत्ति जनाएका छन् ।
यस्तै, सत्ताधारी राप्रपाले समेत प्रमुख प्रतिपक्षीको उम्मेद्वारलाई सघाएको छ । राप्रपा सांसद भास्कर भद्राले हाम्राकुरासँग भने, ‘अन्तर्राष्ट्रिय मान्यता र नेपालको संसदको अभ्यासमा लेखा समितिको सभापति पिवपक्षीलाई नै दिनु पर्ने हो । त्यस विपरीत सत्ता पक्षले नै लिनु हुँदैन भन्दै हामीले प्रतिपक्षीको उम्मेद्वारलाई सघाएका हौं ।’
संसदीय अभ्यासमा प्रतिपक्षीलाई नै लेखा समितिको सभापति दिनु पर्ने मान्यता छ । हामीले संसदीय अभ्यास विपरीत जाँदैनौ भनि, एमालेले उठाएको उम्मेद्वारलाई समर्थन गरेका हौं, –भद्राले भने । डोरप्रसाद उपाध्यायकै प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडाले समेत संसार भर लेखा समितिको नेतृत्व विपक्षी दलले नै गर्ने रहेको बताएका छन् । उनले भने, ‘हामीले पनि विपक्षी एमालेलाई नै सन्तुलन मिलाउनु पर्ने थियो । दलहरुबीच सहमति नहुँदा परिस्थिति अर्कै बन्यो र सत्ता पक्षकै हातमा नेतृत्व आयो ।’ यो राम्रो होइन ।