चितवन,माघ १५ –
बर्षाका कारण नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालनमा प्रभावित भएको छ। राती ३ बजेदेखि नै ठूला मालबाहक गाडीहरु फसेका कारण यातायात आवागनम रातभर अबरुद्ध भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
उक्त सडकको सेती दोभान नजिकै बाटो चिप्लो भएको र पानीले माटो बगेर ३ फिटसम्म माटो जम्दा गाडी फसेको हो। सो क्रममा ना ५ ख ७३९४ नम्बरको ट्रक सडकबाट करिव ५० फिट तल खसेपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
अहिले विहान डोजर लगाएर प्रहरी र मजदुरहरुको सक्रियतामा यातायत आवागमनमा केही सहज बनाइएपछि रातीदेखिको जामका कारण यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ।
अहिले रोकिएका सबै सवारीहरु गन्तव्यतर्फ जाने क्रम शुरु भएपनि सहज हुन भने समय लाग्ने थापाले जानकारी दिए। रोकिएका सवारी नगएसम्म दिउँसो बन्द हुँदै आएको सो सडक आज नरोकिने उनले बताए। मुख्यगरी रातीको समयमा ठूला सवारीलाई पठाउने गरिएकाले राती अड्किएका सबै सवारी मालबाहक र ठुला गाडी छन्।