काठमाडौं, माघ १४ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताएका छन् ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाल लोकतान्त्रिक तामाङ संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन भइरहेका षडयन्त्रलाई एमालेले विफल पारेरै छाड्ने बताए । ‘अहिले भइरहेका षडयन्त्रहरु, वहानाबाजीहरुमा हाम्रो ध्यान गएको छ । हामी कुनै हालतमा सफल हुन दिन्नौं,’ उनले भने ।
कार्यक्रममा अध्यक्ष ओलीले यो देशमा मौका पायो कि एमालेले आफ्नो हैसियत देखाउँछ भन्दै ल्होसार पर्वको शुभकामना पनि दिए । भोलिबाट सुरु हुने ल्होसार पर्वको शुभकामना दिँदै ओलीले भने- ‘अर्काे ल्होसार आसपास एमालेले आफ्नो हैसियत देखाउँछ । तपाईहरुले कुरा बुझ्नुभयो होला, एमालेले धेरै सीट ल्याउँछ किनकि त्यो बेला चुनाव भइसकेको हुनेछ ।’
उनले नेपाल भौगलिक, समाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको भन्दै विविधता स्वभाविक भएको र विभेद अन्त्य हुनुपर्ने जिकिर गरे । उनले सबै जातजातिले समान अधिकार पाउनुपर्नेमा आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरे ।