धर्मेन्द्र दाहाल
मनहरी,माघ १३ –
पश्चिम मकवानपुरको ब्यापारिक केन्द्र मनहरी गाविसमा पिस पार्क निर्माण सुरु भएको छ । जिल्लाको पर्यटनलाई थप टेवा दिने उदेश्यले पिस पार्क निर्माण सुरु भएको हो । मनहरीको वडा नं ४ सिम्पानी देबकोट सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पिस पार्क निर्माण भएको हो ।
समुहले पिस पार्क निर्माणको लागि १० विहगा जग्गा उपलब्ध गराएसँगै पार्क निर्माणको सुरुवात भएको सिम्पानी–देबकोट सामुदायिक वनका अध्यक्ष नारायण उप्रेतीले बताए । अतिक्रमित सामुदायिक वनको जमिनमा अतिक्रमण हटाएर जिल्लाको पर्यटन प्रर्वद्धनको लागि पिस पार्क निर्माण सुरु गरिएको उनले जानाकारी दिए ।
पार्क निर्माणको विषयमा जानकारी दिँदै पिस पार्क निर्माण समितिका सचिव रामचन्द्र उप्रेतीले आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने पिस पार्क नेपालकै नमुना पार्क हुने बताए । पार्कमा पोखरी, वाल उद्यन, एक सय जना बृद्धा अटाउने आमा घर, पिकनिक स्टलहरु रहने उनको भनाई रहेको छ ।
हेटौँडाबाट ३२ किलोमिटर रहेको मनहरीमा निर्माण भैरहेको पिस पार्कको ब्यवस्थापनको जिम्मा भने ब्रम्हकुमारी राज योग सेवा केन्द्र हेटौँडाले लिएको छ । राजयोगले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र २ वटा पार्कको ब्यवस्थापन गर्दै आएको छ । पिस पार्क निर्माणको लागि मकवानपुर क्षेत्र नंबर ४ का सांसद राजाराम स्याङतानल क्षेत्र विकास कार्यक्रम अन्र्तगत १० लाख रुपैँया विनियोजन गरेको पिस पार्क निर्माण समितिले जनाएको छ । आफुहरुलाई स्वदेश तथा विदेशी दाताहरुको सहयोग आउनेक्रम जारी रहेको बताउँदै उप्रेतीले पार्क निर्माणले मकवानपुरको सान बढने बताए ।
पिस पार्कको विषयमा जानकारी दिँदै सञ्चारकर्मी शिवकुमार काशीले पार्क निर्माणबाट मकवानपुरे पर्यटनलाई टेवा पुग्नुको साथै पश्चिमी क्षेत्रको विकासमा समेत सहयोग पुग्ने बताए । मकवानपुर पार्कहरुको जिल्लाको रुपमा चिनाउनको लागि पनि पिस पार्कले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई रहेको छ ।