कुल काफ्ले,
चितवन, माघ ११–
ईट्टा उद्योगमा बालश्रम निवारणका लागि सञ्चालित एजुकेशन सेन्टरमा बालबालिकाको आकर्षण बढ्दै गएको छ ।
ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबच्चाहरुलाई बालश्रम हुन नदिन युथ क्लब नारायणगढको बेटर ब्रिक नेपाल परियोजना अन्तर्गत अर्लि चाइल्डउड एजुकेशन सेन्टरको स्थापना गरिएको छ । पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालित ६ ओटा ईट्टा उद्योगहरुमा बेटर ब्रिक नेपाल परियोजनाको ब्रिज स्कुल कार्यक्रम सञ्चालनमा रहेको छ । परियोजना लागु भएको ६ ओटा ईट्टा उद्योगहरुमा १२ सय कामदार रहेका छन् । उनिहरुका विद्यालय पढ्ने उमेरका १ सय ५१ र पूर्व प्राथमिक तह बढ्ने उमेरका झण्डै २ सय बालबालिकाहरुलाई युथ क्लबले एजुकेशन सेन्टर मार्फत पढाएको छ ।
क्लबका अनुसार विद्यालयको पहुँच बाहिर रहेका १४ देखि १८ वर्ष सम्मका ५० जना बालबालिकाहरुलाई सिपमुलक तालिम दिने तयारी गरिएको छ । ब्रिज स्कूल कार्यक्रम अन्तर्गत मंगलबार खैरहनी नगरपालिका २ पटिहानीमा अर्लि चाइल्डउड एजुकेशन सेन्टरको एक कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अर्यालले अभिभावकले आफुले सानो उमेरमा हुँदा पुरा गरेको जिम्मेवारी अहिलेका बालबालिकाहरुले पनि पुरा गर्नुपर्छ भन्ने मानसिकता हटाउनुपर्नेमा जोड दिए । अहिलेको बालबालिकाहरुले भविष्यमा देशको महत्वपुर्ण पदमा रहि सेवा सुविधालाइ चुस्तदुरुस्त राख्नुपर्ने भन्दै अर्यालले उनिहरुको बालश्रम शोषण नगर्न अभिभावक एवं ईट्टा उद्योगिहरुलाइ आग्रह गरे ।
महिला तथा बालबालिका कार्यालय चितवनका बाल संरक्षण अधिकृत महेश पौडेलले बालबालिकालाई जोखिमपूर्ण काममा लगाइए ऐन अनुसार सम्बन्धित व्यवसायीले ५० हजार जरिवाना वा १ बर्ष कैद वा दुुवै हुन सक्ने बताए । एजुकेशन सेन्टरमा २० जना बालबालिकालाई दैनिक तालिमप्राप्त २ जना शिक्षिकाहरुले मनोरञ्जनात्मक तरिकाले ज्ञान सिप दिइने युथ क्लब नारायणगढका अध्यक्ष भगवान कुमार जोशीले जानकारी दिए । पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा सञ्चालित २० ओटा ईट्टा उद्योगहरुमा ४ हजार कामदारहरुले काम गर्ने गरेको युथ क्लब नारायणगढका कार्यकारी निर्देशक दयाराम कँडेलले जानकारी दिए । एजुकेशन सेन्टरबाट बालबालिकाहरु व्यक्तिगत आचरणका साथै सरसफाइ, बोलिचालिमा परिवर्तन आएको सामाजिक परिचालिका संगीता उप्रेतीले जानकारी दिइन् ।