चितवन, माघ ११–
रक्षामन्त्री बालकृष्ण खाँणले इतिहासलाई निरन्तरता दिँदै नेपाली सेना आफ्नै कमान्डमा शान्ति सेनामा जाने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै रक्षा मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रियता, अखण्डता र एकताका लागि गरेको बलिदान महत्वपूर्ण भएको बताउँदै सेना आफ्नै झन्डामा शान्ति स्थापनाका लागि खटिने स्पष्ट पार्नुभयो ।
मन्त्री खाँणले तीन तहको निर्वाचनकै लागि वर्तमान सरकार निर्माण भएको उल्लेख गर्दै निर्वाचनमा शंका नगर्न आग्रह गर्नुभयो । निर्वाचनका लागि अन्तिम तयारीमा सरकार जुटेको स्पष्ट पार्दै मन्त्री खाँणले संविधान संशोधन प्रस्ताव र निर्वाचन प्रक्रिया दुवै संगसंगै अघि बढ्ने बताउनुभयो ।