चितवन,माघ ९ –
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत जिल्लास्तरीय छनौट प्रतियोगिता पश्चिम चितवनको चित्रवन नगरपालिकामा हुने भएको छ । चित्रवन नगरपालिकाको प्रस्तावित क्षेत्रिय रंगशालामा जिल्ला स्तरीय छनौट प्रतियोगिता गरिन लागेको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । रनिङ शिल्ड अन्र्तगत आईतवारबाट शुरु भएको क्षेत्र नम्वर ४ को प्रतियोगिता उद्घाटनका अवसरमा समितिका अध्यक्ष लामाले जिल्ला स्तरको प्रतियोगिता सदरमुकाम केन्द्रित मात्रै भईरहेको गुनासो आएकाले यस पटक चित्रवन नगरपालिकामा प्रतियोगिता गर्न लागिएको वताए ।
यस अघि क्याम्पाचौरमा जिल्ला स्तरको छनौट प्रतियोगिता हुदै आएको थियो । जिल्लाका पाँच वटा क्षेत्रबाट छनौट भएका विद्यालय तथा खेलाडीहरुले जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । जिल्ला स्तरको प्रतियोगितामा टिम प्रथम हुनेले नगद ७५ हजार र ट्रफी तथा द्धितिय हुनेले नगद ५० हजार र ट्रफी प्राप्त गर्ने समितिका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । चित्रवन स्थित क्षेत्रिय रंगशालामा आईतवार क्षेत्र नम्वर ४ को प्रतियोगिता साँसद विष्णुमाया परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
आयोजक जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा समिति चितवनका अध्यक्ष अस्विन घिमिरे,युवा समाजसेवी सोम भण्डारी,चित्रवन खेलकुद विकास समितिका अध्यक्ष विजय घले ,जिल्ला खेलकुद विकास समितिका सचिव रामजी ढकाल लगायतले मन्तव्य राखेका थिए । क्षेत्र नम्वर चारको पहिलो दिन भएको १५०० मिटर छात्र दौडमा दुर्गा माविका शुशिल परियार प्रथम भए भने विश्व प्रकास माविका सन्तोष गुरुङ द्धितिय तथा हिमालय माविका सितल पन्तले तृतिय स्थान हासिल गरे ।
छात्रा १५०० मिटर दौडमा प्रेमवस्ती माविकी रिनु सुनार प्रथम,हिमालय माविकी अन्जना सुनार द्धितिय र हिमनगर माविकी खिरा शर्मा तृतिय भएकी प्रतियोगिताका संयोजक प्रकास तामाङले जानकारी दिए । आईतवार एक सय मिटर दौड,भलिवल र कवड्डीको पहिलो चरणका खेल समेत भएको प्रतियोगिताका संयोजक तामाङले वताए । रनिङ शिल्ड प्रतियोगिताको अतिरिक्त आमा समुहका लागी म्युजिकल चियर र घैटो फुटाई प्रतियोगिता समेत गरिएको थियो । यसैगरी क्षेत्र नम्वर पाँचको क्षेत्रिय प्रतियोगिता आईतवार सकिएको छ । प्रतियोगितामा छात्रा कवड्डीमा प्याराडाईज इङ्ग्लिस स्कुल प्रथम तथा साझापुर मावि द्धितिय भएको प्रतियोगिताकी संयोजक गंगा खड्काले जानकारी दिईन् । खड्काका अनुसार छात्र कवड्डीमा गोल्डेन फ्युचर एकाडेमी प्रथम र जनज्योती पद्मनारायण धर्मकुमारी मावि द्धितिय भयो । आईतवार एथलेटिक्सका खेलहरु भएका थिए ।