कारी महतो थारु,
चितवन, माघ १–
भुमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले थारु संग्राहलय बनाउन पनि जग्गा नपाउनु दुःखद भएको बताउनुभएको छ ।
चौथो खिचरा महोत्सवको तेस्रो दिन आज (शनिबार) भएको कृषिबाली प्रतियोगिताका विजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै मन्त्री पाण्डेले चितवनको भूमि थारु समुदायको रगत र पसिनाले सिचिंएको भूमि भएपनि अहिले थारु सँस्कृति संरक्षणका लागि संग्रहालय बनाउन पनि जग्गा नपाउनु चिन्ताको विषय भएको बताउनुभयो । संग्रहालय बनाउने उद्देश्यले आयोजित खिचरा महोत्सवका आयोजक समितिले जग्गा उपलब्ध गराउनका लागि गरेको अनुरोध पत्रको जवाफ दिदै मन्त्रीले आफ्नै कार्यकालमा जग्गाको व्यवस्था गर्ने बताउनुभयो । मन्त्री पाण्डेले कृषकहरुलाई पुरस्कार वितरण गर्दै कृषकहरुलाई हिमाल, पहाड र तराईका अन्नदाताको संज्ञा दिनुभयो ।
यस्तै महोत्सव अन्तरगत आज भएको साँगीतिक कार्यक्रममा गायक अलमोडा राना, गायिका शशी रावल, गायक अर्जुन कौशल र स्थानीय गायक दया सिवाकोटीले गीत संगीतबाट दर्शकहरुलाई नचाए । अल्मोडा रानाले “पानी पर्यो असिना झरयो, निर जहिले रिसाउने, देउसी रे” लगायतका एक दर्जन गीत गाएर करीब डेढ घण्टा दर्शकलाई नचाए । शशी रावलले “ब्लाष्ट हुने मेरो जवानी” लगायतका आधा दर्जन गीत आधा घण्टा भन्दा बढी समय मनोरञ्जन दिए । अर्जुन कौशलले “बठिनीया हो” र स्थानीय गायक दया सिवाकोटीको “ठिटी हो” भन्ने गीत गाउँदा नजिकै रहेका ठिटा ठिटीहरुको हुटिङले थप रौनक बढेको थियो । त्यस्तै थारु साँस्कृतिक रिमिक्स नाचका साथै रत्न कला केन्द्रका डान्सरले मन लोभाउने नृत्य पस्के ।
आज खिचरा महोत्सवमा दर्शकको भीड थामी नसक्ने गरी उर्लिएको छ । दर्शकका भीडबाट बार नै भत्किएको छ । करीब ४० हजार भन्दा बढी दर्शक एकै दिन उपस्थित हुँदा आयोजकले छपाएको टिकट समेत अभाव भएको मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले बताए । भोलिको साँगीतिक प्रस्तुति मिलन लामा र रमेशराज भट्टराईलगायतको रहने छ ।