काठमाडौं,माघ १ –
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बढ्दो लोकप्रियता धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।खासगरी मधेसवादी दलका नेताहरुले त चिन्ताका साथै आलोचना नै गरिरहेका छन् । यसैक्रममा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ओलीको लोकप्रियताले चिन्तित देखिएका छन् ।
बाबुरामले ओलीको लोकप्रियतामाथि टिप्पणी गर्दै नेपालमा ओलीजमको हावा बग्ने खतरा बढेको उल्लेख गरेका छन् । विश्वमा ट्रम्पजमको खतराको हावा बगेको भन्दै उनले नेपालमा भने ओलीजमको हावा बग्ने खतरा औल्याएका हुन् ।
बाबुरामले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्- ‘अन्य थुप्रै कारणहरुका अतिरिक्त एउटा मुख्य कारण एक्काइसौं शताब्दीसम्म आइपुग्दा ज्ञान र विज्ञानका क्षेत्रमा जुन ठूला आविस्कारहरु भएका छन्, तीबारे हाम्रा युवा पुस्ता राम्ररी परिचित नहुनु र केही निहित स्वार्थी व्यक्तिहरुको हौवा पछाडि दौडन पुग्नु हो ।’
भारत निकट मानिने बाबुरामले राष्ट्रियता जोगाउने आन्दोलनको नेतृत्व गरिरहेका ओलीको लोकप्रियतामाथि चिन्ता जनाएपछि धेरैले उनको आलोचना गरेका छन् । बाबुरामलाई उनकै पार्टीका केन्द्रीय सदस्य निर्मल भट्टराईले भर्खरैको एक अन्तर्वार्तामा ‘बाबुरामको आत्मामा भारत बसेको छ’ भनेर टिप्पणी गरेका थिए ।
यसअघि मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतले पनि ओलीलाई ‘नश्लीय’ राजनीति गरेको भन्दै आलोचना गर्दै आएका छन् । यतिमात्रै होइन् राजेन्द्र महतोले ‘मधेसबाट एमालेलाई ब्याण्डबाजासहित विदाई गर्छु’ भनेको भोलिपल्टै एमालेको आमसभामा हजारौं मधेसी जनता ओइरिएका थिए ।