Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा बढ्दै वन्यजन्तुको आक्रमण,छ महिनामा छ जनाको ज्यान गयो – Gaule Khabar

चितवनमा बढ्दै वन्यजन्तुको आक्रमण,छ महिनामा छ जनाको ज्यान गयो

चितवनमा बढ्दै वन्यजन्तुको आक्रमण,छ महिनामा छ जनाको ज्यान गयो

चितवन,माघ १-

चितवन निकुञ्जका दुर्लभ वन्यजन्तुले गर्ने आक्रमणका घटना यो वर्ष बढेको छ । चितवन निकुञ्जका वन्यजन्तुले आक्रमण गर्दा गएको आर्थिक वर्षभर जे जति मान्छेको मृत्यु भएको थियो यो आर्थिक वर्षको छ महिनामा त्योभन्दा धेरैको ज्यान गइसकेको छ ।

चितवन निकुञ्जको आडमा रहेको गाउँ माडी नगरपालिका वडा नं। ११ खरकट्टाका १३ वर्षीय सागर सुनारको जंगली हात्तीले आक्रमण गर्दा निधन भयो । शुक्रबार बिहान सबेरै दुई बजे पिसाब गर्न घरबाहिर निस्केका सुनार हात्तीको आक्रमणमा परेका थिए ।

जंगली हात्तीले चितवनमा मान्छे मारेको एक हप्ताभित्र यो दोस्रो घटना हो । पुस २६ गते मंगलबार सौराहास्थित खोरसोरको हात्ती प्रजनन् केन्द्र घुम्न गएका एकजना भारतीय पर्यटकको निधन पनि जंगली हात्तीको आक्रमणमा परेर भएको थियो ।

त्यसो त जंगली जनावरको आक्रमणमा परेर माडीमै तीन महिनाका बीचमा भएको हात्ती आक्रमणको घटना दोस्रो हो । गएको असोज ९ गते गर्दीमा गैँडाले आक्रमण गर्दा एकजनाको ज्यान गएको थियो । चितवन निकुञ्ज कार्यालयबाट प्राप्त विवरणअनुसार यो आर्थिक वर्षको छ महिनामा जंगली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यो आर्थिक वर्ष सुरू भएयता गैंडाबाट तीनजना, जंगली हात्तीबाट दुईजना र बाघबाट एकजनाको निधन भएको छ । बाघले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रबाहिर नवलपरासीमा थप दुईजनाको पनि ज्यान लिएको छ । जसको रेकर्ड निकुञ्ज कार्यालयमा रहने गर्दैन ।

गैँडाले माडीको पाँच पाण्डव मध्यवर्ती क्षेत्रमा असोज ९ गते एकजना, नवलपरासीको लामीचौर मध्यवर्ती क्षेत्रमा कात्तिक १२ गते एकजना र सौराहामा पनि एकजनाको ज्यान लिएको थियो । हात्तीले पनि सौराहा र माडी क्षेत्रमै ज्यान लिएको छ । त्यस्तै बाघले कात्तिक १० गते नवलपरासीको दाउन्नेदेवी मध्यवर्ती उपभोक्त क्षेत्रअन्तर्गतको गाउँमा एकजनाको ज्यान लिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट दुईजना, गैँडाको आक्रमणबाट दुईजना र जंगली हात्तीको आक्रमणबाट एकजनाको गरी पूरा एक वर्षमा जम्मा पाँचजनाको मात्रै निधन भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको छ महिनामा नै गत एक वर्षको भन्दा एकजना बढीको ज्यान गएको घटनाले वन्यजन्तु आक्रमण बढेको देखिन्छ ।

त्यसो त गत वर्ष पछिल्लो सात वर्षमा वन्यजन्तुबाट सबैभन्दा कमको ज्यान गएको थियो । आर्थिक वर्ष ०६६÷६७ यता बढीमा वर्षमा १५ जनासम्मको वन्यजन्तुको आक्रमणका कारण ज्यान गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको विवरणमा उल्लेख छ । आर्थिक वर्ष ०६९र७० मा वन्यजन्तुले आक्रमण गर्दा १५ जनाको ज्यान गएको थियो ।

त्यसपछि वर्षमा १० र नौ हुँदै गत वर्षमा पाँचमा सीमित भएको थियो । चितवन निकुञ्जमा सबै खालका वन्यजन्तुको संख्या बढ्दै गएको अवस्था छ । निकुञ्जका जंगली जनावर मानवबस्तीमा आउनेक्रम पनि बढेको छ । जसका कारण आक्रमणका घटनाहरु बढेको निकुञ्जका अधिकारीहरुको अनुमान छ ।

निकुञ्जका जंगली जनावरहरुले मध्यवर्ती क्षेत्रमा आएर स्थानीयको ज्यान लिएमा मृतकका परिवारले पाँच लाख रुपैयाँ राहत रकम पाउने प्रवधान छ । त्यस्तै घाइते व्यक्तिले उपचार खर्च भनेर बढीमा पाँच लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । यो आर्थिक वर्ष सुरू भएको छ महिनामा गैँडाले आक्रमण गर्दा पाँचजना, बँदेल र बाघको आक्रमणमा परेर एक एकजना घाइते भएको निकुञ्जले जनाएको छ ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका