पोखरा, पुस २९–
कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा ६ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई वर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य रहेको छ ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले बिहीबार यहाँ आयोजित एक समारोहबीच सो पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका कामको अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै उहाँले थप दरबन्दी वा करारमा लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार रणनीतिक महत्वमा परेको चिसापानी– सिगारेवास –टक्सार ग्रामीण सडकलाई रु ३० करोडको लागतमा ७.५ मिटर चौडाइ डबल लेनको बनाउने कार्य प्रारम्भ गरिएको छ ।
पोखराको वडा नं १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ती संरक्षणका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भइसकेको उहाँले बताउनुभयो ।
सांसद राजु थापाले कास्की, स्याङ्जा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुङ्गा साबित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणालाई अगाडि बढाउन पहल भइरहेको जानकारी दिनुभयो ।
डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पूर्वबलित प्रबिधिको सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधा पुग्ने जानकारी दिनुभयो ।
भगवती चौतारा–दुलेडौडा–थपिनीचौतारा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष मानकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भरतपोखरी गाविस र स्याङजाको टक्सार गाविसका पूर्वअध्यक्ष्।द्वय यज्ञप्रसाद अधिकारी र कमानसिँह गुरुङ, समाजसेवी कृष्णबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।