सन्धीखर्क, पुस २८ –
अर्घाखाँची सदरमुकाम सन्धीखर्कमा चालू रहेको अर्घाखाँची महोत्सवमा आएका माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेशबाट अर्घाखाँचीलाई अलग्याउनु पर्ने मन्तब्य राखेपछि स्थानीयले उनलाई लखेटेका छन् । माओवादी नेता आचार्यलाई भारतीय दलाल भन्दै महोत्सवमा सहभागिले आक्रमण गर्न थालेपछि महोत्सवको प्रमुख अतिति बनेर पुगेका ऊर्जामन्त्री जनार्दन शर्मा पनि मन्तब्य टुंग्याउन नपाउँदै बाहिरिनु परेको थियो ।
सदरमुकामको टुंडिखेलमा आयोजित महोत्सवमा सोही क्षेत्रका पूर्व माओवादी सांसद समेत रहेका आचार्यले ५ नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने भन्दै आन्दोलन औचित्यहीन भएको वताएका थिए । आचार्यले बोल्दै गर्दा सभामा सहभागिहरुले मञ्चतर्फ ढुंगामुढा गर्न थालेपछि प्रहरीले आचार्यलाई सुरक्षा घेरमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ लगेको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका ऊर्जामन्त्री जनार्दन शर्मा माफी माग्दै बाहिरिएका थिए । शर्माले अर्घाखाँची बासीलाई पोखरासम्म जान अप्ठ्यारो परे आफूले सुरुङ मार्ग बनाइदिने वताएका थिए ।
स्थानीयले आफूहरु कुनै पार्टी नभनी ५ नम्बर प्रदेश टुक्र्याउने भारतीय योजना बिरुद्ध आन्दोलित रहेको भन्दै आचार्यमाथि जाइलागेका थिए । ‘हामी अर्घाखाँचीबासी जुनसुकै पार्टीका भए पनि भारतले चाहे अनुसार प्रदेश विभाजन गर्ने योजनाको विपक्षमा छौं’ उनीहरु भन्दै थिए ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादी नेता डिलाराम आचार्य बिरुद्ध पनि भारतीय दलाल भन्दै नारा लगाएका थिए । महोत्सवमा माओवादी नेताले दिएको अभिब्यक्तिबाट तनावग्रस्त बनेको सन्धीखर्कमा भीड शान्त पार्न प्रहरीले लाठी चार्ज र हवाइ फायर गर्दा आधा दर्जन घाइते भएका छन् ।
स्थिति तनावग्रस्त हुँदा महोत्सवका बिहीवारका सबै कार्यक्रम स्थगित भएका छन् । अर्घाखाँचीको सोही क्षेत्रबाट निर्वाचित माओवादी सांसद टोपबहादुर रायमाझीले ब्यक्त गरेका विचारको खण्डन गर्दै आचार्यले भाषण गरेका थिए ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=7vrju5IKpQg