काठमाडौं, पुस २८ –
सन् २०१६ मा सात लाख २९ हजार ५ सय ५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।
जसमा रसुवा नाकाबाट आएका २३ हजार ४ सय ५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाई छ ।
सन् २०१५ मा पाँच लाख ५४ हजार ७ सय ४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरेकामा सन् २०१६ मा त्यो भन्दा एक लाख ७४ हजार ८ सय ३ बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१४ मा भने सात लाख ९० हजार १ सय १८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विभागका महानिर्देशक केदार न्यौपानेले सन् २०१५ मा भूकम्प, आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका कारण घटेको पर्यटक आगमन सन् २०१६ मा सुधार आएको बताउनुभयो ।
नेपाल भ्रमण गर्नेमा शीर्षस्थानमा भारतीय, चिनियाँ र श्रीलङ्काका रहेका छन् । सबैभन्दा बढी एक लाख १८ हजार २ सय ४९ भारतीय पर्यटक हवाइ मार्गबाट नेपाल आएका छन् । नेपाल आउने पर्यटकमा दोस्रो शीर्ष स्थानमा चिनियाँ पर्यटक एक लाख चार हजार पाँच रहेका छन् । जसमध्ये ८० हजार ५ सय ५३ जना हवाइ मार्ग र २३ हजार ४ सय ५२ रसुवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
त्यसैगरी शीर्ष दशमा क्रमशः श्रीलङ्काली ५७ हजार ५ सय २१ जना, अमेरिकी ५३ हजार ६ सय ४५, बेलायती ४६ हजार २ सय ९५, थाइल्यान्डका २६ हजार ७ सय २२, म्यानमारका २५ हजार ७ सय ६९, अस्ट्रेलियाका २५ हजार ५ सय ७, दक्षिण कोरियाली २५ हजार १ सय ७१, जर्मनीका २३ हजार ८ सय १२ पर्यटकले गत वर्ष नेपाल भ्रमण गरेका छन् ।
यस्तै बङ्गलादेशका २३ हजार ४ सय ४०, जापानी २२ हजार ९ सय ७९, फ्रान्सेली २० हजार ८ सय ६३, मलेसियाका १३ हजार ६ सय ६९, क्यानडेली १२ हजार ४ सय ९१, स्पेनका १२ हजार २ सय ५५, नेदरल्यान्डका ११ हजार ४ सय ५३, इटलीका नौ हजार ९ सय ११, भुटानी छ हजार ५ सय ९५ र ताइवानी ६ हजार ४ सय २५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
यसैगरी सन् २०१६ मा इजरायलका पाँच हजार ५ सय १२, बेल्जियमका पाँच हजार ४ सय १६, रुसी चार हजार ९ सय ९८, सिङ्गापुरका चार हजार ८ सय ४९, डेनमार्कका चार हजार ८२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
भूकम्प, नाकाबन्दीपछि थलिएको नेपालको पर्यटनले बिस्तारै गति लिन थालेको पर्यटनको आगमनको बढोत्तरीले देखाएको छ । यही अनुपातमा पर्यटकको सङ्ख्या बढ्दै गए सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गर्ने विभागका महानिर्देशक न्यौपानेको भनाई छ ।
अन्य महिनाको तुलनामा सेप्टेम्बर ,अक्टोबर र डिसेम्बर महिनामा सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्ने गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ ।
अक्टोबरमा ८७ हजार ३ सय २६ जना, डिसेम्बरमा ७४ हजार ४ सय ६ जना र सेप्टेम्बरमा ७२ हजार ७ सय २० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
जनवरी महिनामा ४० हजार २ सय ६०, फेब्रुअरीमा ५८ हजार ८ सय ७१, मार्चमा ७४ हजार ४ सय ९४, अप्रिलमा ५८ हजार २ सय ६२, मे महिनामा ४४ हजार ७ सय २८, जुनमा ३६ हजार ८ सय ९७, जुलाइमा ४६ हजार १ सय ६०, अगस्टमा ६४ हजार ३ सय ८६, सेप्टेम्बरमा ७२ हजार ७ सय २०, अक्टोबरमा ८७ हजार ३ सय २६, नोभेम्बरमा ७१ हजार ४० र डिसेम्बरमा ७४ हजार ४ सय ०६ जनाले नेपाल भ्रमण गरेका छन् । रासस