Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘रोनाल्डो’ हात्तीको आक्रमणले पर्यटकको मृत्यु – Gaule Khabar

‘रोनाल्डो’ हात्तीको आक्रमणले पर्यटकको मृत्यु

‘रोनाल्डो’ हात्तीको आक्रमणले पर्यटकको मृत्यु

चितवन,पुस २७-

चितवन निकुञ्ज घुमेर जंगली जनावरहरु हेर्न देश विदेशबाट लाखौं पर्यटक आउँछन् । आएर जंगल जानेमध्ये कमै पर्यटक जंगली जनावरको आक्रमणमा पर्छन् । तर, मंगलबार चितवन निकुञ्जमा फरक खाले घटना भयो । निकुञ्ज घुम्न आएका एकजना भारतीय पर्यटकको जंगली हात्तीको आक्रमणमा परेर निधन भएको छ । चितवन निकुञ्जले घटनाको विषयमा अनुसन्धान सुरू गरेको छ ।

‘प्रारम्भिक विवरणले नियमित बाटोभन्दा फरक बाटोबाट जंगल लागेका कारण यस्तो दुःखद घटना भएको भन्ने देखिन आएको छ । जंगल लैजाने पथप्रदर्शकलाई पनि बोलाएका छौं । थप कुराहरु खुल्दै जाने छ’ चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले भने । सौराहा नजिक रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा सो घटना भएको थियो ।

खोरसोर पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपराको जंगली हात्तीले आक्रमण गर्दा निधन भएको चितवन निकुञ्ज कार्यालयले जानकारी दिएको छ । ‘परिवारसहित गएकी उनलाई हात्तीले उचालेर फालेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि भरतपुर लगिएकोमा ज्यान गएको हो’ सूचना अधिकारी अर्यालले जानकारी दिए ।

सौराहा क्षेत्रमा वर्षौदेखि घुमी रहने ‘रोनाल्डो’ भनेर चिनिएको जंगली भाले हात्तीले उनलाई आक्रमण गरेको थियो । रोनाल्डो सौराहामा गाउँ गाउँसम्म डुल्ने शान्त प्रकृतिको जंगली भाले हात्ती भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । सो हात्ती आक्रमक भएर मान्छेलाई ज्यानै लिने गरेको आक्रमण गरेको खासै सुन्नमा नआएको सूचना अधिकारी अर्यालले बताए ।

सौराहा क्षेत्रमा रहेका सरकारी र निजी होटलका पोथी हात्तीहरुसँग यौन समागम गर्न जंगली हात्ती आउने गर्छ । खोरसोरमा रहेको प्रजनन् केन्द्रमा जंगली हात्ती रोनाल्डो आएको खबर पर्यटकहरुलाई दिने गरेको र सावधानी अपनाउन भन्दै आएको सूचना अधिकारी अर्यालले बताए । सावधानी नपनाउँदा त्यस्तो घटना भएको उनको आशंका छ ।

‘नियमित बाटोभन्दा केही फरक बाटोबाट जंगलतर्फ गएका कारण सो घटना भएको भन्ने सुनिन आएको छ । के भएको हो गाइडलाई सम्पर्क राख्न भनेका छौं । पूरा विवरण उसबाट लिने छौं’ निकुञ्जका सूचना अधिकारी अर्यालले भने । भाले हात्तीमा माद चढे उ पोथीसँग यौन सम्पर्कका लागि आतुर रहन्छ । रोनाल्डोमा अहिले माद चढेको छ ।

‘यो माद चढेको बेलामा पोथी हात्तीहरु रहेको ठाउँबाट उसलाई धपाए अन्यत्र लाग्छ र पोथी हात्ती रहेको मानववस्तीमा पनि जाने खतरा रहन्छ । त्यसैले त्यहाँबाट धपाउने गरेका छैनौ । यो हात्ती तुलनात्मक रुपमा शान्त भएका कारण सावधानी अपनाएको भए यस्तो दुःखद घाटा पक्कै हुन्थेन’ अर्यालले भने । झण्डै एक दशकदेखि सौराहा क्षेत्रमा रोनाल्डो सक्रिय हुने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरुमा जंगली जनावर गैंडा, हात्ती, बाघ, भालुले आक्रमण गर्दा वर्षमा पाँचदेखि २५ जनासम्मको ज्यान गएको अवस्था छ । तर पर्यटकहरुमाथि यस्तो घटना कमै हुने गरेको थियो । जंगल क्षेत्रमा पर्याप्त सावधानी अपनाउन निकुञ्ज प्रशासनले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका