चितवन, पुस १३–
नयाँ शक्ति पार्टी चितवनका दुई जना जिल्ला नेतासहित ५० जना नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका छन् । नयाँ शक्ति नेपाल चितवन दलित विभाग प्रमुख देवीराम पौडेल (विक) र महिला शक्ति नेपाल चितवनकी संयोजक एवं महिला दलित विभाग संयोजक विष्णु क्षत्री नेकपा माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन् ।
पार्टी कार्यालय भरतपुरमा बुधबार उनीहरुलाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं चितवनका इन्चार्ज ईश्वरी भट्टराई र जिल्ला संयोजक इन्द्रजीत परियारले अविर लगाई पार्टी प्रवेश गराएका थिए ।
एकीकृत नेकपा माओवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईसंगै नयाँ शक्ति पार्टी निर्माणमा लागेका देवीराम उक्त पार्टीको ३ नम्बर प्रदेश सदस्य एवं चितवन जिल्ला दलित विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने, महिला नेतृत्व विष्णु क्षेत्री महिला शक्ति नेपालको केन्द्रीय सदस्य समेत रहेकी थिइन् ।
बुधबार नयाँ शक्ति पार्टीबाट पुरानो घर नेकपा माओवादी केन्द्रमा फर्कने अधिकाँश दलित एवं भरतपुर उपमहानगरपालिका वडा नम्बर २४, २५, १९ र १० का थिए ।
यसैगरि केही दिन अगाडी नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य जगन्नाथ आचार्य, प्रदेश नम्बर ३ सदस्य कुलप्रसाद भुषाल र जिल्ला शिक्षा विभाग प्रमुख निलहरी थापा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।