चितवन, पुस १२–
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा आजदेखि भरतपुरमा दोस्रो ‘इक्यान शैक्षिक मेला–२०७३’ सुरु हुँदैछ ।
वीरेन्द्र बहुमुखी क्याम्पस प्राङगणमा सुरु हुने मेलाको आज विहान ११ बजे एक भव्य समारोहकाबीच पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधारले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वदेशमा होस् या विदेशमा’ भन्ने मुल नाराका साथ हुन लागेको मेलाको सम्पूर्ण तयारी पुरा भई सकेको इक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिनुभयो ।
मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुगरि ९६ वटा स्टल र ८ वटा पेभेलियन रहने मेलाका संयोजक भानुभक्त खरेलले जानकारी दिनुभयो । मेलाको सम्पूर्ण स्टलहरु निर्माण भई सकेको उहाँले बताउनुभयो ।
मेलामा विदेशी तथा स्वदेशी शैक्षिक संस्थाहरुबीच सेमीनार चल्ने छ । यस्तै विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयहरुको प्रतिनिधिहरुसंग प्रत्यक्ष परामर्श लिन सक्ने छन् ।
मेला प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । मेलाको सम्पूर्ण व्यवस्थापनको जिम्मा वन अप इभेन्टस एण्ड म्यानेजमेण्ट सोलुसन काठमाडौंले लिएको छ । मेला संचालन गर्न करिव २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ भने २० हजार भन्दा बढि विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।