Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दवावमा प्रधानमन्त्री, संशोधन प्रस्ताव छाडेर निर्वाचनको लबिङमा कांग्रेस – Gaule Khabar

दवावमा प्रधानमन्त्री, संशोधन प्रस्ताव छाडेर निर्वाचनको लबिङमा कांग्रेस

दवावमा प्रधानमन्त्री, संशोधन प्रस्ताव छाडेर निर्वाचनको लबिङमा कांग्रेस

काठमाडौं, पुस १२ –

नेपाली कांग्रेसले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई भन्दा निर्वाचनलाई प्राथमिकता दिएको छ । २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले अझैं पनि संशोधनमै अल्झिरहँदा तोकिएका मितिमा चुनाव असम्भव बन्दै जाने भन्दै कांग्रेसले तत्काल चुनावको मिति घोषणा गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसकै बलियो समर्थनमा सरकारले संशोधन प्रस्ताव ल्याएको भएपनि अहिले उसले संशोधनलाई भन्दा निर्वाचनलाई प्राथमिकता दिएको हो । संशोधन प्रस्ताव पारित गराए आफ्नो राजनीतिक जीत हुने ठानेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको नयाँ प्रस्तावसँगै दवावमा परेका छन् ।

आइतबार र सोमबार गरी दुई दिनसम्म बसेको कांग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बैठकबाट चुनावमा जोड दिएको कांग्रेसले मंगलबार बालुवाटारमा बसेको सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठकमा एक कदम अघि बढेर निर्वाचनको मिति आजकै बैठकबाट घोषणा गर्ने गरी सहमति गरिनुपर्ने प्रस्ताव गरेको एक नेताले जानकारी दिए । कांग्रेसले सो प्रस्ताव गरेपनि मधेसी मोर्चाले त्यसलाई अस्विकार गरिदिएपछि सहमति बन्न नसकेको ती नेताको भनाई छ ।

तर, मधेसी मोर्चाका नेताहरुले भने आफूहरुको माग अनुसार संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पास नभएसम्म चुनावको मिति घोषणा हुन नसक्ने बताएका थिए । यद्यपी उनीहरुले पनि चुनाव आफूहरुको चाहना भएको बताएका थिए । यस्तै प्रचण्डले पनि चुनाव आफ्नो पनि चाहना भएको तर संशोधनलाई पनि एउटा निश्कर्षमा पुर्याइनु पर्नेमा जोड दिएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव अघि बढ्न नसकेको अवस्थामा चुनावको मिति घोषणा गरेर अघि बढ्नुको विकल्प नभएको बताएका थिए । सभापति देउवालेसंशोधन प्रस्ताव जटिल बन्दै गएको र त्यसलाई प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुसँग छलफल गरेर निश्कर्षमा पुग्न समय लाग्ने भएकाले त्यो बीचमा चुनावको मिति घोषणा गरेर आवश्यक वातावरण बनाइनु पर्ने धारणा राखेका थिए ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसले चुनावको मिति घोषणा गरेर अघि बढ्न प्रस्ताव गरेपनि त्यसमा सहमति जुट्न नसकेको बताए । उनले फेरि पनि दलहरुबीच छलफल गरेर टुंगोमा पुग्न प्रयत्न गरिने उनको भनाई छ । यस्तै मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले आफूहरुको माग संविधान संशोधन भएकाले त्यो पारित नभएसम्म चुनावको घोषणा हुन नसक्ने धारणा राखे ।

आजको बैठकमा नेताहरुबीच छलफललाई तिब्रता दिएर एक, दुई भित्रै समाधानमा पुग्न प्रयत्न गर्ने समझदारी भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकार सम्वद्ध दलहरुले प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चासँग थप छलफल गरेर स्थानीय निर्वाचन, संविधान संशोधन, महाअभियोग लगायतका विषयलाई सहमतिका साथ टुंगाउन पहल गर्ने तयारी गरिरहेको उनको भनाई छ । सरकारले गत मंसिर १४ गते संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेले त्यसको विरोध गर्दै सदन र सडकबाट संघर्ष गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, स्थानीय विकास मन्त्री हितराज पाण्डे, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागी थिए । आजको बैठकमा कांग्रेसको प्रस्तावमा सहमति नजुटेपनिन केहि दलहरु बीच घनिभूत छलफल गरेर एउटा निश्कर्षमा पुग्ने समझदारी भने बनेको नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका