चितवन, पुस ११–
चितवनको सौराहामा आजदेखि १३ औं हात्ती महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन अघि बृहत झाँकीसहितको शोभा यात्रा निकालिएको छ । राप्ती किनारबाट सुरु भएको शोभा यात्रा महोत्सव स्थल बाघमारा चौरमा पुगि समापन गरिएको छ । र्यालीमा विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको छ । विशेषगरि थारु समुदायको साँस्कृतिक समूह सबैको आकर्षण बनेको थियो । र्यालीमा सयौंको सहभागिता रहेको थियो ।
क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा पुस १५ गतेसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री जीबनबहादुर शाहीले केहीबेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाहरुबीच रोमाञ्चक फुटबल, हात्ती श्रृंगार प्रतियोगिता, गाडा दौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना गरिनेछ ।
तस्विर सौजन्यः कोमलचन्द्र भगत