Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सकसपूर्ण सडक, भरतपुरका भित्री सडक भत्केर धुलाम्मे – Gaule Khabar

सकसपूर्ण सडक, भरतपुरका भित्री सडक भत्केर धुलाम्मे

सकसपूर्ण सडक, भरतपुरका भित्री सडक भत्केर धुलाम्मे

किशोर खनाल

चितवन,पुस ७-

भरतपुर उपमहानगरपालिकाका पूर्व–पश्चिम राजमार्गबाहेक अन्य कालोपत्रे (पिच) गरिएका भित्री सडकहरु अत्यन्तै सकसपूर्ण छन् ।
पिच भत्केर ठूलठूला खाडल बनेका छन् । त्यसमाथि बेपत्तासँग उडेको धूलोले नजिकको घरलाई नदेखिने गरी ढपक्कै ढाक्छ । पिच सडकमा पनि पाइलैपिच्छे जस्तो खाल्डो भएपछि दुर्घटना पनि बढेको छ ।

‘पिच सडकको जति समय आयु हुनुपर्ने हो, त्योभन्दा धेरै चाँडै भरतपुर नगरका भित्री सडकहरु धमाधम भत्केका छन्’ त्रिचोक टोल सुधार समितिका उपाध्यक्ष प्रेमप्रसाद कँडेलले भने, ‘मुख्य राजमार्गबाहेक भरतपुर नगरका भित्री सडकहरु अत्यन्तै कमजोर छन् ।’

त्रिचोकदेखि लंकू धर्मचोक निस्कने सडकमा ठूला मालबहाक गाडी (ट्रक र ट्रिपर) लाई रोक लगाइएको छ । ‘यो सडक जम्मा २० एमएम (मिलिमिटर) को छ । त्यसमाथि पिच भत्केर ठाउँठाउँमा ठूला खाडलहरु बनेका छन् । ठूला सवारी साधन चलाउँदा उडेको धुलोले बालबालिकामा श्वासप्रश्वासको समस्या देखियो । त्यसैले व्यक्तिगत नाफाको लागि चलाइने ठूला गाडीलाई मात्र हामीले रोक लगाएका हौँ । सार्वजनिक सवारी साधनलाई रोकेका छैनौँँ’ त्रिचोक टोलका सल्लाहकार नरहरि सापकोटाले भने ।

सो सडकमात्र होइन, भरतपुर नगरका भित्री सडकहरुको अवस्था बिजोग छ । सहिदचोकदेखि बेलचोकसम्म जाने सडक पनि भत्केको ठाउँमा टालेर कामचलाउ मात्र गरिएको छ । लंकू पुलदेखि त्रिचोक निस्कने सडक पनि कन्तबिजोग छ । चौबिसकोठीदेखि पीपलचोकसम्मको सडक पनि भत्केको छ । बेलचोकबाट बाह्रघरे जाने सडकको पनि हालत उस्तै छ । लायन्सचोकबाट लंकू पुल पुग्ने आनन्दमार्गको पिच बाटो पनि भत्केर छारो धुलोले बिजोगै बनाएको छ ।

भरतपुरको बाइपासबाहेक भित्री सडकहरुको अवस्था पनि दयनीय रहेको छ । हाकिमचोकबाट भित्र जाने सडकहरु पनि खाल्डाखुल्डीले गर्दा दुर्घटना निम्तने खालको छ । भर्खरै गरिएको नयाँ पिचबाहेक भरतपुर नगरका भित्री सडकहरुको हालत बिजोग छ ।

‘भित्री सडकहरुको पिच जम्मा २० एमएमको हुन्छ । २० एमएमको पिच ठूला सवारी साधनको लागि होइन, यस्तो सडकको आयु करिब ५ वर्ष हुन्छ’ डिभिजन सडक कार्यालयका ई मुकुन्दप्रसाद लामिछानेले बताए । उनका अनुसार धेरै सडकहरु खुलेका छन् । सबै सडकलाई पिच चाहिएको छ । चाहिनेमात्रामा बजेट पुग्दैन ।

‘भरतपुरका भित्री पिच सडकहरु ट्रिपर र ठूला मालबहाक गुड्ने खालका छैनन् । २० एमएमको पिचले ती सवारी साधनलाई धान्दैन । रोडको क्षमताभन्दा बढी वजनका गाडीहरुका कारण आयु नपुग्दै पिच भत्केका हुन्’ डिभिजन सडक कार्यालयका सब इन्जिनियर अमृत यादवले बताए ।

भित्री सडकहरु पनि ४० र ५० एमएमको भएदेखि ट्रिपर र ठूला मालबाहक गाडी गुड्दा पनि केही नहुने उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्ग ४० र ५० एमएमका छन् । सडकको डिजाइन कमजोर भएमा त्यो सडक चाँडै भत्कने एक विज्ञले बताए ।चितवन पोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका