गुल्मी, पुस ६ –
रक्षामन्त्री एवं नेपाली कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँडले पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्ताव जनताकै हितमा रहेको बताएका छन् ।
प्रस्ताव ल्याउँदा क्याविनेटमै असहमति जनाएका तथा प्रस्तावविरुद्ध आवश्यक परे मन्त्री पदसमेत त्याग्ने घोषणा गरेका खाँडले बुधबार एकाएका बोली फेर्दै प्रदेश टुक्राउने पार्टी र सरकारको निर्णयबाट आफू पछि नहट्ने बताए ।
गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिसँगै गुल्मी पुगेका खाँडले भाडगाँउमा कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसीका पिता ज्ञानबहादुर खत्रीको ११ औं दिनको पूण्य तिथिमा आयोजित शोक सभामा बोल्दै ‘पार्टीले यस प्रदेशका जनताको हितको लागि ल्याएको प्रस्ताव राष्ट्रहितमा रहेको र पार्टीको निर्णय नै सर्बपरि हो’ भने ।
सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वाभाबिक हो भन्दै उनले तर, आफू पार्टी निर्णयबाट पछी नहट्ने घोषणा गरे ।
यसअघि खाँडले कपिलवस्तुमा आयोजित एक समारोहमा पार्टी र सरकारभन्दा जनता ठूलो हो भन्दै प्रदेश टुक्राउने सरकारको प्रस्ताव गलत भएको बताएका थिए । पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले प्रस्तावविरुद्ध आवश्यक परे मन्त्री पदबाट राजीनामा दिने घोषणा समेत गरेका थिए ।
कांग्रेस गुल्मीका सभापतिले भने- प्रस्ताव फिर्ता लिनुको विकल्प छैन्
साभामा काँगेस गुल्मीका सभापति एबं संयुक्त संघर्ष समिति गुल्मीका संयोजक भुवन प्रसाद श्रेष्ठले गुल्मेली जनताको भावना विपरित पहाडी जिल्लाको सीमांकन हेरफेर गर्ने आएको प्रस्तावमा असहमति रहेको बताए । उनले नियोजित कसैलाई चित्त बुझाउन ल्याएको प्रस्ताव फिर्ता लिन आग्रह गरे ।