हेटौडा,पुस ५-
अवैध लागुऔषध भारततर्फ लुकाईछिपाई लैजान लागेको अवस्थामा पक्राउ परेको गाँजासहित दुई जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे चेकपोष्टका प्रहरीले ८ वटा प्लास्टिकको प्याकेजमा प्याक गरेको ९५ केजी ४ सय ग्राम गाँजासहित सर्लाही हरिऔन–४ का २८ वर्षीय महेश आलेमगर र ३८ वर्षीय राजकिशोर चौधरीलई प्रहरीले सार्वजनिक गरेको हो । रातोमाटे चेकपोष्टका प्रहरीले हेटौडाबाट वीरगन्जतर्फ गइरहेको ना ५ ख ९३९२ नम्बरको ट्रक रोक्न खोज्दा नरोकेर कुदाएपछि प्रहरीको भ्यान तीव्रगतिमा गएर ट्रकलाई अगाडि गएर रोकेको थियो । उक्त ट्रकको खानतलासी गर्दा गोलभेँडा बोक्ने क्रेटमा लुकाएको अवस्थामा ८ पाकेट गाँजा फेला परेको प्रहरी उपरीक्षक बसन्त लामाले बताए ।
मकवानपुर मनहरि बजारबाट बिहान गाँजाको प्याकेट र गोलभेंडा बोक्ने खाली क्रेटहरु उक्त ट्रकले लोड गरेको थियो । ट्रकमा गाँजा लोड गरेर वीरगन्जतर्फ लैजान लागेको सुराकी पाएपछि प्रहरीले बिहानदेखि नै ट्रक रोकेर खानतलासी गरेको थियो । पक्राउ पर्ने आलेमगर ट्रकका चालक हुन भने चौधरी ट्रकको साहु हुन् ।
प्रहरीले बरामद गरेको गाँजा चौधरीको भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका चौधरीेले यस अघि पनि पटक/पटक गाजा भारत निकासी गरेको प्रहरीसमक्ष बताएका छन् ।