२२ बुँदे घोषणापत्रसहित टान नेतृत्वका लागि सागर पाण्डे समूह चुनावी मैदानमा

२२ बुँदे घोषणापत्रसहित टान नेतृत्वका लागि सागर पाण्डे समूह चुनावी मैदानमा

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
भदौ १७ गते चुनावका लागि आज मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको हो ।

दुई वर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डे सहित १७ जना उम्मेदवारहरुको प्यानल बनेको छ । पाण्डेसंग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा रहेको छ ।

पत्रकार सम्मेलनका क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो समूह जुझारु र व्यवसायीक रहेको बताएका छन् । आफूहरुले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखि पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा घोषणापत्र तयार पारेको बताए ।

पाण्डे समूहले घोषणा पत्रमा ट्रकिङ व्यवसायीहरुका लागि टान अक्षयकोष निर्माण गर्ने, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउने उल्लेख छ । यस्तै, टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्ने, कर सम्बन्धी समस्या समाधान गर्ने, पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराउने, पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिने पनि घोषणा पत्रमा जनाइएको छ ।

सागर पाण्डे समूहले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने उल्लेख गरेको छ भने पर्यटन ऐनलाई समय सापेक्ष बनाइने, ‘एक्सपेरियन्सल टुरिजम’ को विकास गरिने र अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने पनि योजना बनाएको छ । नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गर्ने, एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरूसँग सहकार्य गरिने पाण्डे प्यानलको घोषणा पत्रमा उल्लेख छ । यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गर्ने, पर्यटन सम्बद्ध अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने, पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गर्ने, कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गर्ने देखि पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफू ३० वर्ष देखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको दावी गरे । उनले आफ्नो समूहका अन्य उम्मेदवारहरु पनि सोही प्रकारको व्यवसायमा दक्षता हासिल गरेका र अनुभवी रहेको बताएका छन् । पाण्डे समूहले आफूहरुलाई व्यवसायीक र समावेशी समूह भएको समेत दावी गरेको छ । उनले भने, ‘हाम्रो उम्मेद्वारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधीएका छैनौं ।’ उनले भनेका छन्, ‘हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।’

विपक्षीको समूहका उम्मेद्वारहरु व्यवसाय भन्दा पनि राजनीतिबाट प्रेरित रहेको पाण्डेको भनाई छ । तसर्थ पर्यटन व्यवसायीहरुले आफूलाई नै मत दिने विश्वास व्यक्त गर्दै आफ्नो जित सुश्चित भइसकेको दावी गरेका छन् ।

पत्रकारसंग प्रश्नोत्तरमा अध्यक्ष पाण्डेले टानको निर्वाचन खर्चिलो भएको अनुभुती सबै पर्यटन व्यवसायीहरुले गरिरहेकोले टान निर्वाचनलाई मितव्ययी बनाउन एजेण्डा नै बनाएको बताएका छन् । त्यसैले पनि सागर पाण्डे नेतृत्वको प्यानल निरन्तरताको क्रमभंगता भएको उनको दावी छ ।

सागर पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्धितिय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रीपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेद्वार रहेका छन् । यस्तै सदस्यहरुमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोद कुमार तामाङ, मेरे कार्की, होम बहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) उम्मेदवार रहेका छन् । यो समूहलाई काँग्रेसको संस्थापनइतर समूह, नेकपा माओवादी, रास्वपा, एकिकृत समाजवादी सहित स्वतन्त्र व्यवसायीहरुको समर्थन रहेको बताइन्छ ।

अध्यक्षका लागि राजेन्द्र प्रसाद सापकोटा उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्धितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी रहेका छन् । यस्तै सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेद्वारी रहेको छ । यस्तै सदस्यहरुमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सीना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन् । यो समूहलाई काँग्रेसको संस्थापन समूह र एमालेको समर्थन रहेको बताइएको छ ।

देशभर २४ सय भन्दा बढि ट्रेकिङ कम्पनीहरु दर्ता भई संचालनमा छन् । कम्पनी दर्ता गरि टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरुको संख्या १ हजार ४ सय ३८ छन् । यी मतदाताहरुले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका