काठमण्डौ । छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा डिफेन्डिङ च्याम्पियन एपिएफलाई ३–२ को सेटमा हराउँदै न्यु डायमन्ड च्याम्पियन बनेको हो ।
पहिलो पटक राष्ट्रिय महिला भलिबलको उपाधि जित्ने क्रममा न्यु डायमन्डले पहिलो खेल पहिलो सेट २८–२६ ले जितेको थियो । दोस्रो सेटमा एपिएफ २५–१९ ले जित्दै खेललाई १–१ को बराबरी बनायो ।
तेस्रो सेट न्यु डायमन्डले २५–२२ ले जित्दै खेलमा पुनः अग्रता लियो । चौथो सेट एपिएफले २६–२४ ले जितेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । तर, निर्णायक सेटमा न्यु डायमन्ड १५–९ ले जित्दै च्याम्पियन बन्यो ।
उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता एपीएफले १ लाख ५० हजार प्राप्त गरेको छ ।
यस्तै, त्रिभुवन आर्मी क्लबलाई हराउँदै तेस्रो बनेको पुलिस क्लबले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । पुलिस आर्मीमाथि ३–० को सेटमा जित निकालेको थियो प।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो।