काठमाण्डौ । जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरुपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताएको छ । जसका कारण अधिकांश सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन् । जिल्लाका आठवटै स्थानीयतहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ ।
जिल्लाको गुठिचौर गाउँपालिकामा अहिलेसम्म ५९ उजुरी परे । गत आर्थिक वर्षमा ४१ उजरी परेकोमा यो वर्ष १८ उजुरी परेका छन् । यी सबै घरेलु हिंसा, झै झगडा र कुटपिटका उजुरी हुन् । यी उजुरी हेर्न स्थानीय तहमा न्यायिक समिति छ । तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीकोमा उजुरी दिन जाने गरिएको सो गाउँपालिकाको झारज्वालामा रहेको प्रहरी चौकीका सहायक निरीक्षक कमलकुमार श्रेष्ठले बताउनुभयो । प्रहरी चौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कार्वाही हुने गरेको छ । जटिल खालका उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय पठाइन्छ । चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको प्रहरीले जनाएको छ ।
गुठिचौर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जानदेबी ऐडीका अनुसार न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताउनुभयो । उनले भने, “पहिलेदेखि उजुरी प्रहरीकोमा दिने बानी परेकाले स्थानीयवासी अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन् ।”
गाउँपालिकामा आउने उजुरीको समाधान छलफलका माध्यमबाट गरिँदै आएको छ । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको गाउँपालिका न्यायिक समितिका संयोजक ऐडीले बताए । अधिकांश स्थानीय तहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन । न्यायिक कर्मचारी नहुँदा काम गर्न समस्या भएको स्थानीय तहका न्यायिक समितिका संयोजक बताएका छन।