सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा गाउँपालिकाको नाममा पास गर्न शुरु गरेका छन् । गाउँपालिकाको वडा नम्बर ३ (तत्कालिन बासा ४ र ५) का स्थानीयले गाउँपालिकाको भवन तथा अन्य कार्य प्रयोजनका लागि निशुल्क जग्गा दिने बचनबद्धता बमोजिम सोमबारदेखि गाउँपालिकाको नाममा जग्गा पास गर्न शुरु गरिएको हो ।
गाउँपालिकालाई स्थानीयले करिब ५० रोपनी जग्गा निशुल्क दिनेछन् । जसमध्ये केही जग्गादाता बिदेशमा रहेका कारण अहिले करिब ३६ रोपनी जग्गा गाउँपालिकाको नाममा पास हुने माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।
बाँकी जग्गा पनि छिट्टै नै गाउँपालिकाको नाममा पास हुनेछ । तर हालका लागि गाउँपालिकाले जग्गा भोगचलन गर्न सम्बन्धित जग्गाधनिवाट गाउँपालिकाले प्रतिबद्धता प्राप्त गरिसकेको छ ।
जिल्ला मालपोत कार्यालय सोलुखुम्बु श्रोतका अनुसार बुधबारसम्म तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई, लछिकन्या राई, दिर्गे राई, बनमाया राई, मनराखी राई, अशोक राई, राम्सिङ राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन् ।
माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरुको भौगोलिक रुपमा समान दुरीमा पर्ने, एउटै प्लटमा पर्ने जग्गा निशुल्क उपलब्धता हुने वडा नम्बर ३ स्थित वासा स्वास्थ्य चौकी नजिकैको माँझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्र भित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राबिधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने निर्णय गरेको थियो ।
जसका लागि कार्यपालिका सदस्य निमराज तामाङको संयोजकत्वमा कार्यपालिका सदस्य दिनेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अबिलाल राई सदस्य रहने गरी जग्गा व्यवस्थापन सहजिकरणको लागि समितिसमेत गठन गरेको थियो ।
गत कात्तिक २८ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा जग्गा पास गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको नाममा जग्गाधनिले जग्गा रजिष्ट्रेशन पास गरेपछि गाउँपालिकाको भवन तथा अन्य संरचना बनाउन शुरु गर्ने गाउँपालिकाको योजना रहेको छ ।
“गाउँपालिकाको नाममा जग्गा पास हुन शुरु भयो, अब छिट्टै नै सम्भव भएसम्म चालु आर्थिक बर्ष भित्र नै भवन निर्माणको कार्य शुरु गर्ने तयारीमा छौं” गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भन्नुभयो ।
अध्यक्ष राइका अनुसार गाउँपालिकाको निर्णय बमोजिम अब भौतिक निर्माण कार्य अघि बढ्नेछ । गाउँपालिकाको सभा हल यस अघि नै निर्माण सम्पन्न भई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो ।