सोलुखुम्बु । नेपालको सबै भन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बुमा करिब छ वर्षदेखि बन्द रहेको काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान गरिएको छ । थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेल स्थित उक्त विमानस्थलमा मङ्गलबार परीक्षण उडान सफल भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूको लगातारको प्रयासबाट विमानस्थलमा नेपाल एयरलाइन्सको 9N-ABU कल साईन भएको जहाजले विहान नौ बजेर चार मिनेटमा उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय काँगेलडाँडाले जनाएको छ ।
काठमाण्डौबाट चालक दलका तीन जना सहित ११ जना यात्रु लिएर परीक्षण उडानमा आएको जहाजले ११ जना नै यात्रु लिएर काठमाण्डौ फर्किएको बताइएको छ । यस अघि मङ्सिर २५ गते उडान नै हुने गरी थुलुुङ दूधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगमबिच सम्झौता भएतापनि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक तयारी नपुगेका कारण उडान हुन नसकेको अध्यक्ष राईले बताउनुभयो ।
अध्यक्ष असिम राई र निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहालबिच भएको सम्झौताअनुसार अबदेखि हरेक मङ्गलबार सातामा एक पटक काठमाण्डौ–काँगेल–काठमाण्डौँको नियमित उडान हुने छ । उडानका लागि १६ सिटमा यात्रुको सुनिश्चितता गाउँपालिकाले गरेपछि नेपाल वायु सेवा निगम उडान भर्न तयार भएको हो ।
विमानस्थलमा उडान हुन थालेपछि स्थानीय हर्षित भएका छन् । विमानस्थल नजिकैका स्थानीय शिव कार्कीले खुशी हुँदै भन्नुभयो, घरमाथि एयरपोर्ट हुँदा पनि आपत परेको बेला जीपको घण्टौँ लामो यात्रा गरिरहेका थियौं, अब भने केही सहज होला ।
विमानस्थल सञ्चालनमा आएसँगै सोलुखुम्बुको तल्लो क्षेत्र तथा खोटाङको केही गाउँपालिकाका जनताले लाभ लिन सक्ने छन् । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो ।