कविता – मिठो भ्रम

नरेन्द्र राईको कविता

कविता – मिठो भ्रम

जिन्दगी सधै एक नाशले नचल्ने कुरा सर्वस्वीकार्य छ । कवि  नरेन्द्र राई प्रायः प्रेमिल फूलका कविता लेख्छन् । यद्यपि कहिलेकाही प्रेमिल फूलले चसक्क मन बिजाउने बेला ती प्रेमिल फूल नफुलिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

 

 

ए ! बादल सुन –
अब मेरो आकाशगंगामा
जूनतारा नदेखियोस् ,
घाम सुतिराखोस्
बर्षौबर्ष कुम्बकर्ण झैं !
ताकि –
तिमी र म भएर
कोरिएको क्यानभासमा
उडिरहेका रङ्गहरु नदेखियोस् !
उप्किरहेका सपनाहरू नदेखियोस् !

ए ! प्रिय फूलहरु –
अबदेखि मेरा बाटो भएर नफुल्नु ।
ताकि –
फेरि म
झरेको फुलहरु सम्झेर रुन नपरोस् ।

अब म भएर बतास नबहनु ।
ताकि –
गुमनाम स्पर्शको अनुभुति नआओस् ।

अब म भएर-
गीतहरु नबजुन् ।
झरीहरु नपरुन् ।
चरा र पुतलीहरु नउडुन् ।
बटुवाहरु नमुस्कुराउन्।
मौन रहिरहुन् सबै सबै –
तिमीसंग च्याट गर्नु र फोन गर्नु अभ्यस्त औंलाहरु !
मन पगालेर कविता लेख्ने औंलाहरु !
तिमी र म भेट्न तय गरिएका मिति र ठेगानाहरु !
तिमी र म हामी भएर देखेका सपनाहरु !
हामीले बिताएका सुन्दर समयहरु !

यो समय रोकिउन् –
तिमीलाई प्रेम गर्ने यो मनमुटु !
ताकी-
मलाई छोडेर जादै गरेका तिम्रा पाइलाहरु
म नसुनम
म नदेखम ,
र मौनताभित्र
एउटा मिठो भ्रम जुगजुग बाचिरहोस् !

‘तिमी उस्तै छौ , प्रेम उस्तै छ र रहनेछ … !’

***

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका