ए सरकार !
तिमी को हौ ?
त्यो त मलाई थाहा छैन,
तैपनि तिमीलाई सम्बोधन गर्दै छु ।
म हुदा खाने हैन,
हुने खाने मै गनिन्छु ।
मसँग बैंकमा पैसा छ ।
दुई चार वटा घर छ,
मेरो नाममा प्रशस्त जग्गा जमिन छ ।
अनि एक दुई वटा कम्पनी पनि छ ।
सरकार तर पनि आज
गोजी रित्तिए पछि
एक ट्याब्लेट सिटामोल किन्न नसकेर,
हातमा लगाइरहेको घडीसँग साट्दै छु ।
उसै त ज्वरोले ग्रसित म,
त्यसैमाथि हातमा घडी नहुदा
कुन रात, कुन दिन छुट्याउनु गाह्रो छ ।
अध्याँरो बन्द कोठालाई,
अस्पतालको सैंया सम्झिदै
मृत्युसँग लड्दै छु
आफैभित्र प्रश्न जन्माउदै
कतै कोरोनो त हैन ?
लक्षण उस्तै उस्तै छ
ठ्याक्कै कोरोनो भाइरसको जस्तै ।
हो सरकार !
म हुने खाने मै गनिन्छु
किनकी कोभिड नाइन्टिनको विश्वव्यापी सङ्कटमा
तिमीले दिएको राहतको नाममा
एक माना चामल र एक मुठी दाल
कुनै पनि लिइनँ ।
तर सरकार !
बैंकको खाताको झिक्न नमिल्ने
अंकमा मात्र गनिने पैसाले
नुन, तेल, चामल र औषधी
केही नआउदो रहेछ ।
श्वास त फेर्दै छु तर पनि मरे जस्तै ।
ए सरकार ! तिमीले त
मेरो घरको ढोका पो बन्द गरिदियौ त ।
मैले गरिखाने हात पो बाधिदियौं त ।
अनि हिड्ने खुट्टा पो भाचिदियौ त ।
तर मैले खाने मेरो मुख र पेट
किन बन्द गरिदिएनौ ?
हो सरकार ! तिमीले
मैले खाने मेरो मुख र पेट पनि
बन्द गर्नु सक्नु पर्थ्यो ।
हेर त अहिले
म हुने खानेको त हालत यस्तो छ।
अझै हुदा खानेको स्थिति कस्तो होला ।
हुदा खाने, बिरामी, बृद्धा र अपाङ्गको स्थिति
तिमीले महसुस गर्न पनि सक्दैनौ
ए सरकार !
तिमीले महसुस गर्थ्यौ पनि कसरी ?
सानो घरको ठूलो कुर्सीमा बसेर ।
ह.तु. न.पा. ७, खोटाङ,
कवि विमला चाम्लिङसँग सामाजिक संजालमा जोडिन यहाँ क्लिक गर्नुहोस् ।